रणनैतिक मोर्चा बारे अवधारणा तय गर्न क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक शुरु

0

नवलपरासी २४ पुष – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आकस्मिक बैठक काठमाण्डौमा शुरु भएको छ । बैठकमा पार्टी महासचिव किरणले राष्ट्रिय राजनीति अन्तराष्ट्रिय परिस्थिति सहितको राजनैतिक प्रतिबेदन पेश गर्नुभएको छ । विहीवार आकस्मिक रुपमा पोलिटब्युरोको बैठक भएको थियो ।
अब केन्द्रीय समितिको बैठक शुरु भएको छ –नाम उल्लेख नगर्ने शर्तमा एक पोलिटब्युरो सदस्यले भन्नुभयो –बैठकमा महासचिव किरणले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिबेदन माथि छलफल शुरु भएको छ ।
त्यस्तै केन्द्रीय समिति बैठकमा महासचिव किरणले पेश गर्नुभएको प्रतिबेदनमा अन्तराष्ट्रिय रुपमा समेत संसदीय ब्यवस्था फेल भएका उल्लेख गर्दै अमेरिकामा ट्रम्पले देखाएको हर्कत र नेपालमा केपी शर्मा ओली नेतृत्व फासीवादमा पतन भएको उल्लेख गर्दै यो राजनैतिक संकट मात्र नभई संसदीय ब्यवस्थाकै संकट भएको दावी गरिएको छ ।
केन्द्रीय समिति स्रोतका अनुसार बैद्यको प्रतिबेदनमा संसदवादीहरुबीच गहिरिएको राजनैतिक संकटका साथै ४ पार्टीबीचको रणनैतिक मोर्चाका बारे समेत बिषयबस्तु समाबेश गरिएको छ । महासचिव किरणले पेश गरेको प्रतिबेदनमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम शुक्रवार नै शुरु भएको छ । शुक्रवार २५ जना केन्द्रीय सदस्यले महासचिवको प्रतिबेदन माथि धारणा राखेको स्रोतको भनाई छ ।
सो पार्टीको पीवीमा २३ र केन्द्रीय समितिमा ७७ जना रहेका छन् । केन्द्रीय समितिमा रणनैतिक मोर्चाको अबधारणा पत्र बारे समेत छलफल भएको र त्यसमा सचेत हुदै अगाडि बढ्नुको विकल्प नरहेको धारणा केन्द्रीय सदस्यहरुले राखेका छन् । केन्द्रीय समितिमा रणनैतिक मोर्चाबारे मिश्रित प्रकारको धारणा रहेको एक केन्द्रीय सदस्यले बताउनुभयो ।
बैठकले शनिवार बाँकी केन्द्रीय समितिका सदस्यहरुले धारणा राखेपछि महासचिव किरणले त्यसको जवाफ दिने र केन्द्रीय समितिले राजनैतिक तथा सांगठनिक बिषयमा निर्णय गर्ने जनाइएको छ ।
यस अघि बैद्य माओवादीले प्रतिबन्धित नेकपा ऋषि कट्टेल नेतृत्वको नेकपा र बिश्वभक्त दुलाल ( आहुति ) नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबीच रणनैतिक मोर्चा बनाउने सार्वजनिक गरिएको थियो ।

You might also like