पाक्ने बेला सुन्तलामा किरा

0

पर्वत — सुन्तला पाकेर बेच्ने समयमा किरा परेपछि सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका छन् ।

उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ सुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेंलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । ‘बढी पहेंलो भएको गेडो छिट्टै झरेको छ,’ अगुवा किसान जगतबहादुर खत्रीले भने, ‘कोट्याएर हेर्दा भित्र किरैकिरा छन् ।’

बारीभरि पहेंलै भएर झरेका सुन्तला संकलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताए । उनले बर्सेनि ६ देखि ८ लाख रुपैयाँसम्मका सुन्तला बोटबाटै बेच्छन् । बर्सेनि ५ लाखका सुन्तला बिक्री गर्दै आएकी चन्द्रकुमारी भण्डारीले पनि पाक्ने बेलामा देखिएको यस्तो समस्याले आम्दानी चौपट हुने चिन्ता लागेको सुनाइन् । ‘धान फल्ने खेत मासेर सुन्तला लगाएका छौं,’ उनले भनिन्, ‘सुन्तला उठाउँदै खाल्डोमा पुर्नुपरेको छ ।’ मल, काँटछाँट र बगैंचा व्यवस्थापनमा बर्सेनि लाखभन्दा बढी खर्च हुने भण्डारीले बताइन् । लगानी मात्रै नभएर वर्षभर कमाइखाने बाटो पनि बन्द हुने अवस्था आएको बताइन् । बाँसखर्कमा बर्सेनि साढे ३ करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौंदेखि चितवनसम्मका बजार पुर्‍याउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । ‘यसपालि बाक्लो फलेको देखेर खुसी थियौं,’ सहकारीका अध्यक्षसमेत रहेका खत्रीले भने, ‘मंसिरदेखि झर्न थालेको हो । पाकेका सुन्तला झरेपछि आम्दानीको बाटो सुक्ने चिन्ता छ ।’

सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने उनले बताए । किसानले सुन्तला बेचेबापत प्रतिकिलो ५ रुपैयाँका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो । जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गरे ।

‘जोनले केही माखो मारेन,’ रेग्मीले भने, ‘पहिला ब्लक हुँदा सानातिना समस्या समाधानलाई पैसा आउँथ्यो । अहिले त्यै पनि हरायो । बारीभरि सुन्तला झरेर बिजोग छ । जोनलाई धेरै भन्यौं । सुनुवाइ भएन ।’ पाक्ने बेलामा किरा लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताए । मोदी गाउँपालिका–२ को देउपुरमासमेत गत वर्षदेखि देखिएको हाँगा कुहिने रोगको समस्या समाधान भएको छैन ।

कान्तिपुर

You might also like