बालिका हत्या प्रकरण : मृतक संजयलाई सहिद घोषणा गर्न माग

0

१० मङि्सर  बर्दिबास : ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्नेमा माग गरिएको छ । बर्दिबासका सर्वपक्षीय बैठकले यस्तो माग गरेको हो ।बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ती दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग अघि सारेको हो । यस्तै माग पूरा गर्न सरसकारसँग वार्ता गर्ने वार्ता टोलीसमेत गठन भएको छ । कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो ।

अबको कदमको बारेमा निर्णय लिन सो समितिको बैठक बसिरहेको  समितका सदस्य हिरा गौतमले जानकारी दिए ।

उपचारको क्रममा काठमाडौंमा मृत्यु भएका न्यौपानेको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारजनले जनाए । आईतबारबाट हराएकी महोत्तरीको बर्दिबास– १४  स्थित शुभम् बस्तीकी ६ वर्षीय गुलाब साह खातुनको शव सोमबार मध्यराती भेटिएको थियो । बालिका हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनाको विरुद्धमा स्थानीयहरु आन्दोलित भएका थिए । भीड तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिटिएर’ लागेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दाबी बताएका छन् ।

प्रदेशसभा सदस्य शारदादेवी थापाले प्रहरीले मृतक बालिकाको लाशलाई समयमा व्यवस्थान गर्न नसक्दा अर्को मान्छे मर्ने घटना भएको बताइन् । ‘कोही टुहुरो भयो । आमाको काख रितियो। श्रीमतीको सिउँदो पुच्छिएको छ,’ उनले भनिन्, ‘आन्दोलनको घटनालाई साम्य पार्न सीडीओ र प्रहरी समन्वयमा चुक्दा थप क्षति भयो ।’उद्योग वाणिज्य संघ बर्दिबासका सदस्य विनोद भण्डारीले राजनीतिक दलको ठूलो कमजोरीले वातावरण बिग्रिएको बताए ।‘ज्यादतीको विरुद्धमा लडेका संजयको ज्यान गएको छ’, नेकपा महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘घटनाको सत्यतथ्य छानविन गरेर सार्वजनिक गर्नु पर्छ । हाम्रो माग पुरा नभए थप  आन्दोलनमा जान्छौं ।’

अन्नपुर्ण पोष्ट

You might also like