श्रीमानको ‘पर्सनल सेक्रेटरी’ जस्तो भएर श्रीमतीले कहिलेसम्म बाँच्नुपर्ने?

0

अच्युत शाली घिमिरे।

दशैं सिद्दिसक्यो। तिहार आइरहेको छ। यस्ता ठूला चाडपर्वमा घरका छोरी मान्छेहरूले भने निकै सास्ती भोग्नुपर्छ।पाहुनाहरूलाई बोलाएर मीठो मसिनो खुवाउने,टीका लगाउन आउनेलाई सेवा सत्कार गर्दैमा छोरी मान्छेको चाडपर्व सक्किसक्छ।

अझ छोरीहरू स-साना भए र ठूला भएर पनि काममा अल्छी गर्ने रहेछन् भने त सबै कामको बोझ घरकी श्रीमतीलाई जान्छ।

जुठा भाँडा माझ्नेदेखि लिएर पूजाका सामग्री ठिक्क पार्न उही श्रीमती चाहिन्छ। घरको सरसफाइ,लिपपोत,बत्ती बाल्नसम्म श्रीमती नै चाहिन्छ।

अधिकांश श्रीमान त बस् आदेश मात्र दिन्छन्। न बाहिर यस्सो गाउँ सहर डुलेर झिलिमिली हेर्ने फुर्सद न साथीभाइसँग शुभकामना साट्ने मेसो,श्रीमतीहरूलाई त दशैं तिहार जस्ता चाडपर्व ‘बोझ’ जस्तै बनेर आउँछ। श्रीमानहरू भने घरमा पाइला नै राख्दैनन्।

खानेबेलामा आउँछन् अनि खाएको थालमा चुठेर निस्कन्छन्। कहीँ नभएको तास खेलेको हेर्न जान्छन् कि राजनीतिक गफ हाँक्न। चाडपर्वमा हुने यस्ता भेदभावको जरो नौलो भने होइन।

चाडपर्व बाहेकको सामान्य अवस्थामा समेत मानसिकता उस्तै नै छ।

श्रीमान श्रीमती दुवैको अफिस हुन्छ, छुट्टी हुने समय एकै रहन्छ तलब पनि बराबर रहन्छ तर घर आएर बालबच्चाका ड्रेस धुन र खाना पकाउन श्रीमती नै अग्रसर रहनुपर्छ।

श्रीमानलाई टिभीको रिमोट समातेर देशको राजनीति र क्रिकेटको स्कोरमा डुब्न मन लाग्छ तर घरायसी कार्यमा सहयोग गर्ने जाँगर चल्दैन।

श्रीमतीलाई पनि बेलुका सिरियल हेर्ने मन हुन्छ तर भाँडा माझ्दा माझ्दै त्यो छुटि सक्छ र थकाइले पनि आलस्यता ल्याउँछ। घरका सबै कामकाज सकेर मेन गेट बन्द गरेर बालबच्चालाई सुताएर आफू सुत्नका लागि बेडरूम छिर्दा श्रीमानले एक निद्रा पुर्याइसकेका हुन्छन्। यो भन्दा बढी अत्यासलाग्दो कुरा त जब बिहान अर्लाम बज्छ,श्रीमतीले मात्र त्यो अर्लाम सुन्छिन् तर श्रीमान अझै मस्त निद्रामा हुन्छ।

श्रीमती उठेर घरमा पोछा लाउँछिन्,दूध ल्याउँछिन्,पत्रिका टेबलमा राख्छिन्,चिया पकाउँछिन्,खाना बसाल्छिन्,बालबच्चालाई टिफिन तयार पारेर जब चिया बोकेर बेड रूम छिर्छिन् श्रीमान आङ तानेर उठौं कि नउठौं गर्दै बसिरहेको हुन्छ।

श्रीमान चियाको एक चुस्की लिन्छ अनि श्रीमतीको अनिँदो आँखाहरू हेर्दै,फुटेका हत्केलाहरू सुम्सुम्याउँदै बढो मीठो लवजमा भन्छ-‘आज साँझ डिनर गर्न बाहिर जाने ल!’ श्रीमती त्यो श्रीमानको वचनलाई दिव्य प्रेमको पुकार मान्छे र आफूले भोग्दै आएको नदेखिँदो अत्याचारलाई अझ गुपचुप राख्छे।

कहिलेकाहीँ दालमा नुन पुगेन भने ‘सरी ल आज अलि हतार थियो’ भन्छे। रोटी पकाउँदा पकाउँदै हात जलेर रोटी डढ्यो भने आफैं डढेका रोटी खाएर श्रीमानलाई मीठा रोटी टक्र्याउँछे।

अफिसको मिटिङ भन्दै श्रीमान घर ढिलो आउने भए भने बालबच्चालाई खुवाउँछे तर आफू भान्छा कुरेरै बस्छे। बालबच्चालाई स्कुलमा पुर्याएर हतार हतार घर आउँदा र श्रीमानको कपडामा इस्त्री लगाउन भुल्दा समय व्यवस्थापन गर्न नसकेको भनि श्रीमानले ठूलै आरोपसहित गाली गर्दा पनि सुनेर बस्छे।

श्रीमानलाई अफिस जानलाई  घर अगाडिको निजी कारसम्म पुर्याएर आएपछि आफू तयार भएर सार्वजनिक गाडी चढेर अफिस जान्छे।

श्रीमती कुनै टीका-टिप्पणी गर्दिन। सुखी र सम्पन्न घर गृहस्थी बसाल्न अनि श्रीमानलाई खुसी राख्न सकेकोमा आत्मसन्तोष भर्छे। मानौं, हाँसी हाँसी पीडाहरू सहेरै बस्छे।

चाडपर्वमा समेत श्रीमतीहरू घरको रमाइलो भाँडिने डरले सहेरै बस्छन्। श्रीमतीहरूले सहेर हरेक चाडपर्व रमाइलो बित्ला तर पनि यो एक प्रकारको दलन नै हो।

श्रीमानहरू बाहिर बाहिर जाँदै नरनारी बराबरका ठूला ठूला गफ हान्छन् तर व्यवहारमा शून्य प्रायः हुन्छन्।

अनुभूतिका हिसाबले श्रीमतीहरू यो दलनलाई लेख्दैनन् होला। यो भेदभावलाई बाहिर आएर बोल्दैनन् होला तर यो असमान तत्त्वका सम्बन्धमा आफैं सोचमग्न चाहिँ पक्कै भएका हुन्छन्।

मैले धेरै श्रीमान श्रीमती दुवैलाई निम्ता गरिएका पारिवारिक अन्तर्वार्ताहरू हेर्ने गर्छु। जहाँ घरायसी कुराहरू दुवैलाई सोध्ने गरिन्छ। जब श्रीमानलाई मन पर्ने खाना, मन पर्ने लुगा,मन पर्ने फलफूलदेखि उसका आनी बानी सबै श्रीमतीलाई सोधिन्छ तब श्रीमतीले लगभग सबै मिलाउँछिन्।

तर जब श्रीमतीका बारेमा उस्तै प्रश्नहरू श्रीमानलाई सोधिन्छ,श्रीमान त अकमक्क नै पर्छन्। त्यस कार्यक्रममा श्रीमान नै बडो सेलिव्रेटी भएर दुवैलाई बोलाइएको भएता पनि के एक अर्काको बारेमा समान चासो राख्नुपर्ने दुवैको आवश्यकता होइन र? वा श्रीमानको पर्सनल सेक्रेटरी जस्तो भएर कहिलेसम्म बाँच्नुपर्ने हो?

श्रीमानलाई भन्दा श्रीमतीका लागि प्रकृति स्वयंले बढी व्यवधानहरू सिर्जना गरिदिएकी छिन्। मासिक महिनावारी हुनुपर्ने,गर्भवती हुनु पर्ने,बच्चा जन्मिएपछि उसको स्याहार सुसारमा समय व्यतित गर्नुपर्ने आदि।

संस्कारकै हिसाबले पनि आफ्नो जन्मभूमि नै छोडेर जानुपर्नेदेखि लिएर पितृ कर्म गर्न नपाउने निषेधात्मक व्यवस्थाहरू छन्। त्यसमाथि नारीहरूले बराबरीको हिस्सा मागेर हैरान गरे भन्दै पुरूष जाति ओइरो गर्छन्।

महिनावारीकै कारण आइपर्ने शारीरिक असहजता र अस्वस्थताका कारण कति नारीले परीक्षा छोडेका छन्,कति खेलाडीले खेल त कति ले आफ्नो रोजगारी। गर्भवती हुँदा नौ नौ महिनासम्म अनफिट भएर सबैका अगाडि सकि नसकी अफिस जाने श्रीमतीका अघि श्रीमान कहिलेदेखि बराबर हुन सक्लान् खै?

बच्चा पाएपछि स्तनपान गराउनु पर्ने बाध्यताले हतार हतार घर आउने र आफ्नो समय बच्चाकै रेखदेखमा समर्पित गर्ने श्रीमतीलाई अझै कुन तुलामा राखेर हामी जोखिराख्ने?

बिहे हुनभन्दा अगाडिदेखि नै माइती पक्षहरू कसरी छोरीको शिक्षा दिक्षामा पूर्णता ल्याउने भन्दा पनि कसरी चाहिँ खानदानी घर खोज्ने र बिहे गरेर छोरीको जीवन ‘सेटल’ गरिदिने सोचमा व्यस्त हुन्छन्। अर्थात् घरधन्दा गर्न सिकाउने प्रिस्कुल हुन्छ माइतीघर र आफ्नो बिहे पछिको घर त्यो ज्ञान उतार्ने कार्यस्थल।

अचेलका बाबुआमाहरु पिँजडाबाट उम्किन नदिन हरेक छोरीहरूलाई बिहे गरिदिन्छन्।अनि जब ऊ श्रीमती बन्छे चाहेर पनि बन्धन तोड्न सक्दिन।

अर्थात कुवाको भ्यागुतो जस्तै किचनको वरिपरि परिकार र सागसब्जी केलाउँदैमा,अरूले खाएको जुठो भाँडा माझ्दैमा जीवन व्यतित हुन्छ।

यो सोचनीय विषय छ। कसरी आफ्ना स-साना बच्चाहरूलाई ताते गर्न सिकाउने घरकी आमाले कालन्तरमा आफैं विस्तारै दगुर्न भुल्छे भन्ने कुरा।

कसरी एउटी नारीका लागि पुरूषको जस्तै जीवन बाँच्न पनि एउटा सपना देखे जस्तै र कथा लेखे जस्तै हुन्छ भन्ने कुरा। कसरी तीज आउँदा श्रीमानको लामो आयुका लागि व्रत बस्ने श्रीमतीले आफ्नै आयु चाहिँ घटाउँछे भन्ने कुरा।

यहाँ बराबरीको कुरा सिद्धान्त र प्रतिशतले मापन हुँदैछ। तर श्रीमानहरू बेखबर छन् यहाँ माया र प्रेमले जाँच्नुपर्छ बराबरीको कुरा भन्नेमा।

हिराको खोजीमा देश दौडाह गर्नेहरूले भुल्दछन् हृदयका कुरा। सामिप्यताका कुरा। आपसी सम्झौताका कुरा। श्रीमतीले भाँडा पखाल्दा श्रीमानले पानी हाल्दिने कुरा। श्रीमतीले तरकारी काट्दा श्रीमानले भात बसाल्ने कुरा। श्रीमतीले लुगा धुँदा श्रीमानले करेसा बारी गोड्ने कुरा। यसो गरे बल्ल प्राप्त हुन्छ खुसी परिवार,सुखी जिन्दगी। अब नि सोच्ने हैन त, घरको काममा हातेमालो गर्ने हैन त?

सेतो पाटि

You might also like