पूर्वप्रधानमन्त्रीपुत्रको बाख्रापालन

0

नवलपुर– टंकप्रसाद आचार्य नेपालका १८औँ प्रधानमन्त्री हुन् । उनी २०१२ सालमा प्रधानमन्त्री नियुक्त भएर करिब १८ महिना सरकारका रहे ।

राणा शासनविरुद्ध आन्दोलन छेड्ने युवाहरू मध्येका एक थिए टंकप्रसाद । राणाशासन अन्त्यपछि २०१० सालमा गठित मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा टंकप्रसाद गृहमन्त्री थिए ।

१९९३ सालमा २२ वर्षको युवा उमेरमा ‘नेपाल प्रजा परिषद्’ नामको राजनीतिक दल स्थापना गरेर आन्दोलनमा होमिएका टंकप्रसाद २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसका सभापति भए ।

उनले नेपालमा पञ्चवर्षीय योजनाको थालनी मात्र गरेन । मन्त्रिपरिषद् बैठकमा भारतका कर्मचारी राख्ने नियम खारेज गरे । उनकै कारण भारत चिढिएको भन्दै राजा महेन्द्रले टंकप्रसादको राजीनामा मागेर डा. केआइ सिंहलाई प्रधानमन्त्री नियुक्त गरेको थिए ।

तिनै क्रान्तिकारी प्रधानमन्त्री टंकप्रसादका छोरा वीरभद्र आचार्य ६ वर्षअघिदेखि बाख्रापालन व्यवसायमा छन् । आफूलाई कहिल्यै राजनीतिमा चाहना नभएको वीरभद्रले बताए ।

 

टीका लगाएर राजनीतिमा लाग्न उचित नहुने भएकोले आफू देशको लागि केही योदान गर्ने उद्देश्यले नै कृषि पेशामा लागेको उनको भनाइ छ ।

टंकप्रसादका तीन छोरा र चार छोरी मध्येका कान्छा हुन् वीरभद्र । माइला छोरा कुशुमाकरको १० वर्षअघि निधन भयो । रसियामा इन्जिनियर पढेका कुशुमाकर जलस्रोत मन्त्रालय अन्तर्गत विद्युत् विकास केन्द्रमा जागिरे थिए । जेठो छोरा पनि अवकाशप्राप्त सरकारी इन्जिनियर हुन् ।

छोरा वीरभद्रका एक छोरा र एक छोरी छन् । दुबै छोराछोरी अमेरिकामा बस्छन् । कुशल राजनीतिज्ञ टंकप्रसादका छोरा वीरभद्र नवलपरासीपूर्व गैँडाकोट नगरपालिका–१३, सिख्रौलीमा ६ वर्षदेखि उन्नत जातको बाख्रपालनमा छन् ।

जागिरकै सिलसिलामा नवलपरासी आउँदा २०५४ सालमा किनेको एक बिघा जग्गामा उनले झण्डै पाँच करोड रुपैयाँ लगानीमा बाख्रा पालन सुरु गरेका हुन् ।

नातेदार र इष्टमित्र गरी १२ जनाको साझेदारी रहेको ‘बगैँचा फार्म हाउस बाख्रा स्रोत केन्द्र’ अध्यक्ष हुन् वीरभद्र । यहाँ अष्ट्रेलियन बोयर जताका दुई सय बाख्रा छन् । तीमध्ये ३५ वटा शत प्रतिशत बोयर रहेको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष धितालले बताए ।

अष्ट्रेलियाबाट बाख्रा काठमाडौँ ल्याएपछि २१ दिन क्वारेन्टिनमा राख्नुपर्छ । क्वारेन्टिनमा स्वास्थ्य परीक्षण गरी सरकारी मापदण्ड पूरा गरेर मात्रै आफ्नो ठाउँमा लैजानुपर्छ ।

नेपालमा पछिल्लो समय बोयर बाख्राको माग निकै बढेको छ । कृषकहरू व्यावसायिकरूपमा बोयर जातको बाख्रापालन गर्न थालेका छन् । अष्ट्रेलियाबाट ल्याउँदा एउटाको २ लाख ६० हजार रुपैयाँ वीरभद्रले बताए ।

एक विगाहामा बाख्राको खोर, कामदार रकर्मचारीहरू बस्ने टहरा र कटेज छन् । बाँकी जमिनमा उन्नत जातको भूइँघास लगाएका छन् ।

बाख्रालाई प्रशस्त घास चाहिने भएकाले कुल १४ बिघामा भुँइघाँस तथा डालेघाँस लगाइएको छ ।

कामदार मीनबहादुर थापाका अनुसार १२ जना सञ्चालकमध्ये फार्ममा बसेर काम गर्ने वीरभद्र नै हुन् । उनी बाख्रापालन गर्ने चाहना राखेर आउनेहरूका लागि हप्ताको दुई दिन प्रशिक्षण पनि दिन्छन् ।

बाख्रा पालनमा निकै मिहिनेत आवश्यक पर्ने वीरभद्र बताउँछन् । जोखिम पनि उत्तिकै रहेको उनको अनुभव छ ।

उनका अनुसार २० वटासम्म बाख्रा पाल्न समस्या छैन तर त्यसमाथि संख्या बढ्दै जाँदा रोगको जोखिम बढी हुने उनले बताए । रोगकै कारण किसानहरू सफल हुन नसकेको उनको भनाइ छ ।

बाख्रामा लाग्ने मुख्य रोग नाम्ले हो । वैशाखदेखि कात्तिकसम्म हरेक महिना नाम्ले किराको औषधि खुवाउनुपर्छ ।

बाख्राका लागि नभई नहुने इन्ट्रोटोक्सिमिया नामको औषधि सहज उपलब्ध छैन । वीरभद्रका अनुसार कृषि ऋण प्रवाह पनि चित्तबुझ्दो छैन ।

उनी भन्छन्, ‘बैंकले तीन महिनामा इन्स्टलमेन्ट तिर्ने वा एक वर्षको ऋण दिने कुरा बन्द गर्नुपर्छ । लामो समयको ऋण दिनुपर्छ ।’

उनका अनुसार व्यावसायिक हिसाबले हेर्दा ३५ किलोभन्दा कम तौलको बाख्रा बेचेर किसानलाई फाइदा हुँदैन ।

ती वर्षमा बोयर बाख्रा १३० देखि १६० किलोसम्म हुने गर्छ । बोयरको ५० प्रतिशत क्रसमा ४० किलो भन्दा बढी मासु हुन्छ ।

नेपालमा बोयर जातको बाख्रा बर्षमा दुई पटक ब्याउँछ । रैथाने बाख्रासँग क्रस गराएर उन्नत नश्लका पाठापाठी बढाउनु नै बोयर पालनको मुख्य उद्देश्य हो ।

सरकारी तथ्यांक अनुसार नेपालमा मासुको वार्षिक कुल मागको २५ प्रतिशतभन्दा कम उत्पादन हुन्छ ।

देशको कृषि आधुनिकीकरणमा केही नयाँ काम गर्ने सोच भएका, स्वदेशमै व्यवसाय गर्छु भनेर विदेशबाट फर्केका, दिनरात मिहिनेत गर्दा पनि प्राविधिक कारणले मारमा परेकाहरूलाई बाख्रापालनमा उत्साहित गर्न सरकारलाई वीरभद्रको सुझाब छ ।अहिलेसम्म बाख्रापालनबाट किसानले मुनाफा पाउन नसकेको वीरभद्रको उनको ६ वर्षको अनुभवले देखाएको छ । अहिलेसम्म कागजमा मात्रै मुनाफा रहेको उनले बताए ।

Khaber hub

You might also like