सुनवल नगरद्वारा खरको छानो मुक्त अभियानमा तीब्रता

0

नवलपरासी – पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले खरको छाना मुक्त अभियानलाई तीब्र बनाएको छ । कार्यक्रम अन्तरगत नगर क्षेत्रमा रहेका सबै खरका छाना रहेको घरमा पिलर गाडेर टिन छाई दिन थालेको हो । आ.ब. २०७५÷७६ बाट नगरपालिका आफैंले प्रतिघर ७५ हजार लगानी गरेर यो अभियान सुरु गरेको नगरपालिका प्रमुख भीम बहादुर थापाले बताउनुभयो । यसवर्षदेखि सरकारले देशभर खरको छाना मुक्त अभियान सुरु गरेको छ । अहिले लागत सहभागितासहित प्रति घर ९० हजार लागत पुगेको थापाले बताउनुभयो ।
नगर क्षेत्रमा कुल ३ सय ८४ जना गरिब तथा अति विपन्नले खरको छाना हटाएर टिन छाउन निवेदन दिएका छन् । जसअन्तरगत हालसम्म १ सय ६५ वटा घरमा टिन लगाइएको छ ।
खर हटाएर टिनको छाना लगाइ दिएपछि स्थानीय विपन्न समुदाय खुसी भएका छन् । सबै घर बनाउन अहिलेसम्म १ करोड १० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । यसवर्ष बाँकी रहेका २ सय १९ वटा घर निर्माण भई नगरलाई खरको छाना मुक्त बनाईने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

 

 

You might also like