कोभिड अस्पतालमै संक्रमितको उपचार ठप्प

0

 २३  कार्तिक,रूपन्देही/कपिलवस्तु/बर्दिया — कोभिड–१९ को लक्षण देखिए पनि जटिलबाहेकका अन्य बिरामी उपचारबाटै वञ्चित हुने गरेका छन् । संघीय सरकारले सीमित वर्गबाहेक निःशुल्क उपचार बन्द गर्ने निर्णय गरे पनि लुम्बिनी प्रदेश सरकारले निःशुल्क उपचार गर्दै आएको थियो ।

बुटवलस्थित कोरोना विशेष अस्पताल । शय्या खाली हुँदाहुँदै पनि भर्ना लिन बन्द गरिएपछि संक्रमित मर्कामा परेका छन् । तस्बिर : अमृता अनमोल

प्रदेशका कोभिड अस्पतालमा निःशुल्क उपचार हुने गरे पनि सबैले उपचार सेवा पाउन सकेका छैनन् । लक्षण भएका बिरामीलाई पनि अस्पतालले भर्ना लिनै छाडेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवलको धागो कारखानास्थित कोरोना अस्थायी अस्पतालमा साधारण बिरामीका लागि ३६ शय्या छन् । जटिल बिरामीका लागि १६ वटा आईसीयू शय्या छन् । जटिल बिरामीको चापले आईसीयूमा सहजै भर्ना पाउने अवस्था छैन । साधारण शय्यामा पनि अस्पतालले भर्ना लिन नमानेको बिरामीको गुनासो छ । शुक्रबार दिउँसो अस्पतालको आईसीयू कक्ष भरिए पनि साधारण शय्यामा १२ जना मात्रै बिरामी उपचाररत थिए । २४ शय्या खाली थिए । तर तिलोत्तमा नगरपालिका–३ का ५७ वर्षीय एक पुरुष संक्रमितले अस्पतालमा भर्ना हुन पाएनन् ।

कोरोना पोजिटिभ देखिएपछि उनी ७ दिनदेखि होम आइसोलेसनमा थिए । बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए । ‘अस्पतालमा शय्या छैन भन्दै घर फर्काइयो,’ बिरामीका आफन्त मनोज काफ्लेले भने, ‘पछि बुझ्दा कोरोना अस्पतालमा शय्या खाली भएको जानकारी पायौं तर उपचार पाएनौं ।’ घरमै ल्याएर जडीबुटी खुवाएर परिवारले नै उपचार गरिरहेको उनले बताए । दुई सातायता आईसीयूबाहेकका आइसोलेसन शय्यामा बिरामी भर्ना गर्नै छाडिएको छ ।

सरकारले लक्षण देखिएका जटिल भएका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्न निर्देशन दिएपछि कोभिड अस्पतालमा नयाँ बिरामी भर्ना लिन बन्द गरिएको हो । अस्पतालले आईसीयूमा उपचारपछि सामान्य अवस्थामा फर्कन थालेका बिरामीलाई मात्रै अहिले साधारण शय्यामा राख्न थालेको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । ‘सरकारको निर्णयअनुसार नै साधारण लक्षण मात्र भएका र समस्या नदेखिएका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न छोडिएको छ,’ उनले भने, ‘गम्भीर प्रकृतिका बिरामी र कडाखालको निमोनिया भएकालाई मात्र आईसीयूमै राखेर उपचार हुन्छ ।’

आईसीयू अभाव भएमा सामान्य शय्यामा राखिने गरे पनि पछिल्लो समय गम्भीर प्रकृतिका बिरामीको संख्या घटेको उनले बताए । लुम्बिनी प्रदेशका ११ प्रयोगशालामा दैनिक २ हजार ३ सयसम्म स्वाब संकलन हुने गरेको थियो । तर पछिल्लो दुई सातामा उक्त संख्या घटेर दैनिक ८ सय ५० मा झरेको छ । त्यसमा पनि जटिल बिरामीको संख्या न्यून रहेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशका १२ मध्ये रूपन्देही सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो । ६ हजार ५ सय ७ संक्रमितमध्ये अहिले पनि झन्डै १ हजार ३ सय जना सक्रिय संक्रमित छन् । तर ८३ प्रतिशत संक्रमित होम आइसोलेसनमा छन् । २ सय ८ जना मात्र कोरोना अस्पताल र अन्य अस्पतालमा उपचाररत छन् । सरकारले उपचार सुविधा उपलब्ध गराउँदासम्म संक्रमण पुष्टि भएका बिरामी पनि अस्पतालमा भर्ना भएरै उपचार गर्थे । दोस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्कन्थे । तर संक्रमित पनि घरमै बसेर उपचार गर्न सक्ने निर्देशिका सरकारले जारी गरेपछि धेरै संक्रमित आफूखुसी होम आइसोलेसनमा बस्न थालेका सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए ।

‘अहिले घरमा असहज भएपछि मात्र अस्पतालमा आउने गरेका छन्,’ उनले भने, ‘त्यस्ता बिरामीलाई मात्र आईसीयूमा राखेर उपचार गरिन्छ ।’ संक्रमितको संख्या तीव्र रूपले वृद्धि भएपछि जटिल बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्न थालिएको उनले बताए । तर कोही संक्रमित पनि उपचारबाट वञ्चित हुने अवस्था लुम्बिनी प्रदेशमा नरहेको उनको दाबी छ । उनका अनुसार सामान्य ज्वरो आएका संक्रमित बिरामीको प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा शुक्रबारसम्म १ सय ९० जनाको मृत्यु भइसकेको छ । १९ हजार ८ सय २३ संक्रमित भएकामा १६ हजार ८ सय ४७ जना निको भएका छन् । २ हजार ७ सय ८३ जनाको उपचार भइरहेको छ ।

ट्रेसिङ र परीक्षण पनि ठप्प

सीमावर्ती कपिलवस्तुको यशोधरा गाउँपालिकामा गत वैशाख र जेठमा कोरोना संक्रमण उत्कर्षमा थियो । त्यहाँ एक सयभन्दा बढी संक्रमित थिए । त्यतिखेर त्यहाँ जान परे धेरैले जिब्रो टोक्थे । अनेक बहाना गरेर जानै मान्दैनथे । अहिले त्यहाँको जनजीवन सामान्यजस्तै देखिन्छ । एक जना पनि सक्रिय संक्रमित छैनन् । कारण दुई महिनादेखि त्यहाँ कन्ट्याक्ट ट्रेसिङ गरिएकै छैन ।

‘भदौ दोस्रो साता यहाँ २ जना संक्रमित फेला परेका थिए,’ यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्योतिप्रकाश दुबेले भने, ‘त्यसयता एक जना पनि संक्रमित फेला परेका छैनन् ।’ सीमासँग जोडिएकाले यशोधरा उच्च जोखिममा छ । तर संक्रमणविरुद्ध सचेतना छैन । समुदायमा यसबाट जोगिने उपायबारे कुनै कार्यक्रम गरिएको छैन । ट्रेसिङ नहुँदा नयाँ बिरामी पनि फेला परेका छैनन् । ट्रेसिङ गर्ने समिति पनि निष्क्रिय बनेको छ । स्वास्थ्यकर्मीले पनि जोखिम मोल्नुपरेको छैन । ‘संक्रमणको जोखिम महसुस गरेका छैनौं,’ गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले भने, ‘त्यसैकारण हामी ढुक्क भएर बसेका छौं ।’

सीमावर्ती कृष्णनगर नगरपालिकामा पनि कन्ट्याक्ट ट्रेसिङ ठप्प छ । कृष्णनगर पनि वैशाख र जेठमा कोरोना संक्रमणको हटस्पट थियो । अहिले ट्रेसिङ नहुँदा बिरामी भेटाउन गाह्रो भएको छ । यहाँ ट्रेसिङ नभएको महिना दिनभन्दा बढी भइसक्यो । ‘संक्रमितसँग क्लोज कन्ट्याक्ट नभएसम्म कन्ट्याक्ट ट्रेसिङ गर्ने नीति छैन,’ स्वास्थ्य शाखा संयोजक शंकर भट्टराईले भने, ‘त्यही भएर यहाँ अहिले ट्रेसिङको काम सुस्त छ ।’ कुनै बेला कृष्णनगरको नाम सुन्दै डराउने अवस्था थियो । अहिले सामान्य छ । यहाँ सक्रिय संक्रमित ५ जना थिए । उनीहरूमा लक्षण नदेखिएकाले पीसीआर गरिएको छैन ।

जिल्लाका १० स्थानीय तहमध्ये ७ स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ शून्य बराबर छ । शुद्धोदन, यशोधरा, मायादेवी र विजयनगर गाउँपालिकामा त ट्रेसिङ नै छैन । कपिलवस्तु, महाराजगन्ज र कृष्णनगरमा भने ट्रेसिङको काम सुस्त छ । ट्रेसिङको काम सुस्त भएपछि स्वाब परीक्षण पनि प्रभावित भएको छ । स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको काम स्थानीय तहलाई जिम्मा दिएको छ । यहाँका सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ टोली पनि बनाएका छन् । तर यहाँका ७ स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा रुचि देखाएका छैनन् ।

‘हाम्रो काम समन्वय गरेर स्वाब परीक्षण गराइदिने हो,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले भने, ‘तर स्थानीय तहले अग्रसरता नलिँदा यहाँ कन्ट्याक्ट ट्रेसिङ नभएको हो ।’ ट्रेसिङ र परीक्षणको दायरा नबढाउँदा स्थानीय त्रसित छन् । जिल्लामा सक्रिय संक्रमित १ सय ७८ जना छन् । १ हजार ४ सय ७९ जना संक्रमणमुक्त भएका छन् । १३ जनाको मृत्यु भएको छ ।

‘भगवान् भरोसा’ मा सर्वसाधारण

कोरोना संक्रमण पुष्टि भए पनि घरकै आइसोलेसनमा बस्न मिल्छ । जोसँग भेटे पनि हुन्छ । स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्दैन भन्ने मानसिकताका कारण बाँकेमा कोरोना संक्रमण अरू व्यक्तिमा सर्दै गएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी पनि हुन छाडेको छ । धेरैको बुझाइमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा पर्नेको पीसीआर परीक्षण नहुँदा समुदायमा महामारीको रूपमा संक्रमण फैलिएको हो । परीक्षण र ट्रेसिङ बन्द गरिएपछि सर्वसाधारणको जीवन भगवान् भरोसामै अडिएको छ । अर्कोतर्फ संक्रमित आफैंले उपचार गर्नुपर्ने सरकारी निर्णयले सर्वसाधारण निराश बनेका छन् ।

सरकारले लक्षण देखिएका व्यक्तिको मात्रै पीसीआर परीक्षण गर्ने निर्देशिका ल्याएपछि संक्रमण बढेको हो । यसअघि कोरोना संक्रमितको सम्पर्कमा आएकाको परीक्षण गरिँदै आएको थियो । यसले बाँकेका नरैनापुर नगपालिका र नेपालगन्ज–८ जोलहनपुर्वामा पूर्णरूपमा कोरोना नियन्त्रणमा आएको थियो । तर परीक्षण बन्द भएपछि संक्रमण फैलिँदै गएको छ । जसका कारण भयावह अवस्था आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । संक्रमण चौतर्फी फैलिसकेकाले नियन्त्रणमा चुनौती थपिएको उनीहरू बताउँछन् ।

‘समुदायमा कोरोनाको आगो लागिसक्यो । अब आफैं जोगिनेतिर लाग्नुपर्छ । स्वास्थ्यकर्मीहरूले सकेसम्म नियन्त्रणको प्रयास गर्ने हो,’ भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘जटिल खालका संक्रमितको संख्या थपिँदै गएकाले पनि मृत्युदर बढ्न सक्छ ।’ उनका अनुसार पीसीआर परीक्षण कम भइरहेकाले कोरोनाको संक्रमण फैलिएको र वास्तविक अवस्था खुल्न सकेको छैन । शंका लागेर परीक्षण गराउनेहरूमध्ये आधाभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छ ।

नेपालगन्जमा अहिले कोरोना महामारीअघि जस्तै भीडभाड छ । गाउँमा पनि अवस्था उस्तै छ । चिया पसलदेखि सडकसम्म स्वास्थ्य सतर्कता र सामाजिक दूरी कायम गरिएको छैन । ‘लकडाउन खुलेपछि संक्रमण बढ्ने सम्भावना देखेर अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरिएको थियो । अटेर गर्नेलाई एक सय रुपैयाँ जरिवाना पनि गरियो,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने, ‘कोरोना नियन्त्रणका लागि सबैतिरबाट हामीलाई असहयोग भयो । जसका कारण हामी पछाडि हट्यौं ।’

कान्तिपुर

You might also like