‘बिहे गर्दिएपछि हलुंगो भइन्छ दाइ!’
शरद ऋतु, दसैंतिहारको समय, वातावरण रमाइलो थियो। यसै पनि मलाई त्यो नीलो आकाशमा सेता बादलका टुक्रा नाचिरहेको हेर्न खुबै मनपर्छ।
स्नातक चौथो वर्षमा अध्ययनरत म लकडाउनले पढाइ बन्द भएलगत्तै घर आएको पनि आठ महिना चल्दै रहेछ। धेरैपछि घर बस्न पाउँदा रमाइलो लागे पनि भनिन्छ नि धेरै भएपछि गुलियो पनि तीतो हुन्छ त्यस्तै जस्तै आजकल छटपटी हुन थालेको छ। तर पनि दिनहरू कटिरहेकै छन्।
सधैंजसो हिजो पनि साँझपख पसल बन्द गर्ने बेला हुँदै थियो। म र बाबा आफ्नै घरायसी कुरामा मग्ध थियौं। यत्तिकैमा गाउँको एक भलादमी भनौदा अंकल बाबाछोरीको कुराकानीमा आफ्नो पनि सहभागिता जनाउन आइपुग्नुभयो।
‘छोरी पनि हेर्दाहेर्दै कत्ति ठूली भइन् है दाइ, कति वर्ष पो पुगिन् रे ?’
उहाँको पहिलो जिज्ञासा थियो यो तर अब योपछि आउने उहाँका अनेकौं प्रश्नहरू म सजिलै अनुमान गर्न सक्थें। बाबाले त्यसको उत्तर दिन पाउँदानपाउँदै अर्को प्रश्न सोधिहाल्नु भयो।
‘पढाइ कहाँसम्म पुर्याइन् कुन्नि, अब के गर्ने सोच्दै छिन् ?’ मनमा यो महामारीका कारण यत्तिका महिना यसै घरमा बस्नुपर्दाको छट्पटी आफ्नै ठाउँमा छ, अझ अंकलका ती प्रश्नले कता कता घोच्न थाल्यो।
फेरि अर्को प्रश्न, ‘अब त दाइ यसो नानीको लागि केटा खोज्नुपर्ने बेला पनि भएछ। कुराकानी आइराखेकै होलान् , के विचार गर्नुभएको छ कुन्नि दाइले?’ यिनी प्रश्न सुन्नासाथ म बाबालाई उछिन्दै आफ्ना तर्क राख्न थालें।
‘कहाँ बिहेको कुरा गर्नु अंकल पढ्दै छु, पढाइ सक्काएर आफूले केही गर्न सक्ने भएपछि पो बिहे गर्ने हो नि, बिहे जस्तो कुरामा हतारिनु भएन नि!’ म यत्ति कुरा के भन्दै थिएँ अंकल जोसिन लाग्नुभयो।
‘पढाइ सकेर सबै मिलाएर बिहे गर्दा त अठ्ठाइस, तीस पो पुग्छ उमेर, पैतिसको केटा खोज्नुपर्छ, अझ उमेर धेरै भएकी केटी भनेर बिहे गर्न असाध्यै गाह्रो पर्छ। यो पढाइलेखाइ भन्ने कुरा बिहेपछि पनि त भैहाल्छ नि! बिहेपछि नि पढेकै छन् कत्तिले’ बाबातिर फर्किंदै, ‘आफ्नो जिम्मेवारी पूरा गरेर हलुंगो हुनुपर्छ के दाइ बेलामा नै, बिहे गर्दिएपछि आ-आफ्नो बाटो गर्छन्।’
अंकलका सबै कुरा सुनेर म छक्क परें त्योभन्दा बढी समयले यति पर पुर्याइसक्दा पनि सोच परिवर्तन नभएको यो समाज देख्दा एक प्रकारको पीडाको अनुभूति भयो।
म कस्तो समाजमा बाँचिरहेकी छु, जहाँ छोरीलाई आफैंले रोजेको केटासँग आफ्नै घरको आँगन पोलेर कन्यादान गर्न पाए बुवाआमा आफ्नो जिम्मेवारी पूरा भएको विश्वास गर्नुहुन्छ, चाहे छोरी बिहेपछि आफ्ना सपना पूरा गर्ने अवसर पाओस् या नपाओस्। जहाँ छोरीले कस्तो केटा पाउँछे भन्ने कुराको निर्धारण उसको योग्यताभन्दा नि बढी उसको उमेरले गर्छ।
जहाँ छोरीको बिहे गर्दा सकेसम्म छोरीभन्दा चार पाँच वर्ष बढी उमेरकै केटासँग गर्नुपर्छ भन्ने सोचले जरा गाडेको छ।
मेरो मामाघरकी साथी हामी एउटै उमेरका छौं।
अहिले उसको छोरीले टिकटक बनाएर फेसबुकतिर राखिराकी हुन्छे, चिना ज्योतिषलाई देखाउँदा अठार वर्षमा बिहे गरेन भनि छब्बीस वर्षसम्म जुरेको छैन भन्दिएपछि उसको परिवारले हतारमै उसको बिहे गर्दिनु भएको थियो।
उसको बिहेपछिको भोगाइ र बन्देजलाई मैले नजिकैबाट नियाल्दा देखेको उसको उपलब्धि भनेको त्यही छोरी मात्र हो।
हरेक पटक जब म उसलाई भेट्छु चुरा किन्नेदेखि छोरीलाई कापी किन्नेसम्म आफ्नै श्रीमानमा भर पर्नुपर्दा आफूलाई भएको हिनताबोधबारे भनिरहेकी हुन्छे।
ऊ मात्र होइन ऊजस्तै हजारौं छोरी चिना हेराएकै भरमा यति वर्ष बिहे गर्न हुँदैन भन्दिएपछि आफ्ना रहर, सपना सबै त्यागेर बिहे गर्न बाध्य छन्।
घर नजिकैकी दिदी पढाइमा अब्बल नै हुनुहुन्थ्यो, चिनाले बिहे गरिहाल्नु पर्छ भन्दिएपछि स्नातक दोस्रो वर्षमै बिहे भयो।
बिहे भएको पहिलो वर्षमै एउटा सन्तान जन्मियो, बाबु तीन वर्षको पुग्दानपुग्दै अर्को गर्भ रह्यो, अहिले अर्को दोस्रो सन्तानको पनि आमा बन्नुभएको छ, जब जब दिदीलाई भेट्छु आफ्नै लक्ष्य र रहर सबै अधुरो रहेको पीडाबारे गुनासो गरिरहनुहुन्छ।
बाबाआमालाई दुई नाति भैहाल्यो अब छोरीको जिन्दगी खुसी छ भन्ने लाग्छ तर ती दिदीजस्तै कत्ति दिदी आज पनि छिटो बिहे गर्नुको कारण आफ्नो सपना खुम्च्याउन बाध्य भएको पीडा र पश्चतापमा जलिरहेका छन्।
अझ दु:खको कुरा त आफैंसँग भाँडाकुटी खेलेर हुर्किएकी साथी बिहेपछि आफ्नो श्रीमानसँग कुरा नमिलेर घर न माइत भएर बस्नु उसको पीडा त झन् कसले बुझ्नु!
आज समाजले त्यही पीडामै बाँचिरहेका साथीको नियतमाथि औंला उठाउँछ। आफ्नो घर गरेर खान नसकेको भन्दै अनेकौं लान्छना लगाइन्छ उसैमाथि।
अनि जब मजस्ता छोरी आफू सक्षम भएपछि बिहे गर्ने भनेर जब आएका बिहेका प्रस्तावलाई अस्वीकार गरिन्छ अनेकौं प्रश्न उठाइन्छ हाम्रै नियतमाथि। जब छोरी आफू सक्षम हुन्छे, आफ्नो लक्ष्यमा पुग्छे तब आफ्नो लागि एउटा साथी आफैं पनि खोज्न सक्छे।
बाबाआमाको जिम्मेवारी भनेको त छोरीलाई एक साहसी, आत्मनिर्भर अनि आँटिली बनाउनु होइन र?
के एउटा केटा खोजेर बिहे गर्दिंदैमा आमाबुबा बोजमुक्त हुन्छन् हो?
बिहेपछि छोरीले भोग्नुपर्ने अनेकौं पीडा अनि समस्याका बारेमा जान्दाजान्दै पनि नजाने जस्तो गर्ने अनि बुझ्दाबुझ्दै पनि नबुझे जस्तो गर्ने आमाबुवाहरू देख्दा मन दुखेर आउँछ।
छोराछोरी समान भन्दै गफ चुट्ने यो समाज किन फेरि छोरो पैतिस पुग्दा बिहे गर्न नआत्तिनेहरू छोरी पच्चिस पुग्दानपुग्दै अत्तालिएका होलान्।
आज पनि समाजका कुरिति यिनै कुन्ठित सोचका कारण कत्ति छोरीहरूले आफ्नो रहरको आहुति दिन बाध्य छन्।
तर आशा छ छिट्टै हरेक आमाबुवाले आफ्नो पहिलो जिम्मेवारी के हो त्यो मनन गर्नुहुनेछ अनि परिवर्तित समाज र परिवर्तित सोच हेर्न यी आँखा आतुर छन्।
सेतो पाटि