नहरको बाटोमा भारतीय अवरोध

0

कोसी ब्यारेजको पानी लैजान बनाइएको नहरको डिलमा दुई वर्षदेखि माटो थुपारेर राख्दा सास्ती खेप्दै स्थानीय

 

राजविराज — भारत सरकारले कोसी योजनामा लापरबाही गर्दा सप्तरीको पश्चिम–दक्षिणी क्षेत्रका बासिन्दा गाउँमै थुनिने जोखिम बढेको छ । कोसी ब्यारेजबाट भारततर्फ पानी लैजान निर्माण गरिएको कोसी पश्चिमी नहरको डिलमा दुई वर्षदेखि माटो थुपारेर राख्दा सप्तरीको पश्चिम–दक्षिण क्षेत्रका बासिन्दाले सास्ती खेप्नुपरेको छ । माटो थुपारिएको सडक दुई दशकयता जीर्ण बनेको थियो । 

नहरको सफाइ गर्दा कोसी योजनाले झिकेको माटो नहरको डिलमा थुपारेर राखेको छ । जसले गर्दा सप्तरीको दक्षिण–पश्चिमी क्षेत्र विष्णुपुर र राजगढ गाउँपालिका तथा डाकनेश्वरी नगरपालिकाका बासिन्दा बढी समस्यामा परेका छन् । गाउँबाट बाहिर निस्कन र सदरमुकामलगायत अन्यत्र जान उनीहरूले त्यही कोसी पश्चिमी नहरको डिललाई मूल बाटोका रूपमा प्रयोग गर्थे । मंगलबार राति वर्षा हुँदा ती क्षेत्रका बासिन्दा गाउँबाट बाहिर निस्कने नहरको डिल हिलाम्य भएपछि गाउँमै थुनिएका थिए । सुक्खामा धूलो र वर्षामा हिलोका कारण सर्वसाधारणलाई आवतजावतमै समस्या भएपछि बुधबार डाकनेश्वरी नगरपालिकाका स्थानीयले भारतविरुद्ध प्रदर्शन गरेका थिए । बाटो बनाउन आवश्यक पहल नगरेको भन्दै उनीहरूले नेपाल सरकारविरुद्ध पनि नाराबाजी गरे । तत्काल बाटो निर्माण नगरिए आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन् ।

सम्झौताअनुसार कोसीका संरचनाको मर्मत सुधारको जिम्मा भारत सरकारको हो । आफ्नो जिम्माको काम भारतीय पक्षले नगरेका कारण सीमावर्ती नेपाली क्षेत्रका जनताले समस्या भोग्नुपरिरहेको राजगढ गाउँपालिकाका शम्भुकुमार यादवले बताए । भारतीय पक्षले आफ्नो भूमिमा सिँचाइका लागि कोसी ब्यारेजबाट कोसी पश्चिमी नहर लगेको छ । वर्षौंदेखि उक्त नहर जीर्ण हुँदा पानी सहज तरिकाले भारत जाने गरेको थिएन ।

आफ्नो भूमि सिँचाइका लागि भारतीय पक्षले दुई वर्षदेखि नहरको जीर्णोद्धार गरिरहेको छ । मूल बाटोमै माटो थुपारिँदा सुक्खामा धूलो र वर्षामा हिलो हुने गरेका कारण सर्वसाधारणले उक्त बाटो प्रयोग गर्न पाइरहेका छैनन् । ‘राजगढ गाउँपालिकाका बासिन्दासँगै विष्णुपुर गाउँपालिकाको मझौ, कनकटा तथा डाकनेश्वरी नगरपालिकाको दक्षिणी क्षेत्रका गाउँबाट बाहिर निस्कने मूल बाटो नहर नै हो,’ यादवले भने, ‘बाटोमा माटो थुपारिँदा निस्कनै गाह्रो भइरहेको छ । हामी गाउँमै थुनिने अवस्था छ ।’ एम्बुलेन्ससमेत छिर्न नसक्ने अवस्था भएको उनले बताए ।

डाकनेश्वरीका नगर प्रमुख शिवनारायण साहले नहरको बाटो अस्तव्यस्त बन्दा वडा नम्बर–३ को केही भाग तथा वडा नम्बर ४, ६ र ८ का बासिन्दालाई गाउँबाहिर निस्कन दुःख भएको बताए । डाकनेश्वरी, राजगढ र विष्णुपुरका स्थानीय र जनप्रतिनिधिले यसबारे पटक–पटक स्थानीय प्रशासन गुहारिसकेका छन् । गत चैतमा प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाउँदै नहरको बाटोमा माटो र बालुवा थुपार्दा बाटो बिग्रेर आवागमनमा अवरोध गरेको बताएको थियो । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पश्चिमी कोसी नहरको बाटोको विकटताबारे आफू जानकार रहेको बताए । ‘म पनि त्यो बाटोमा गएको छु । पाउडरजस्तै धूलो उड्ने गरेको र प्रयोग गर्न एकदमै समस्या छ,’ प्रजिअ गौतमले भने । उनले पछिल्लो समय भारत बिहारको पटना, सुपौल र मधुवनी जिल्लामा भएको दुईदेशीय अधिकारीको बैठकमा आफूले कोसी पश्चिमी केनालको बाटो तत्काल निर्माण गर्न भारतीय पक्षसित कुरा राखेको बताए ।  kantipurnews

You might also like