विगतमा ३० लाख बाहिरिन्थे, यस पटक छ लाख मात्र बाहिरिए

0

काठमाडौं, कात्तिक ६ गते । ट्राफिक प्रहरीको तंथ्याङ्कमा असोज १ देखि कात्तिक ४ गतेसम्म काठमाडौं उपत्यकाबाट एक लाख ५२ हजार ६३८ सवारी साधन बाहिरिए । एक महिनामा ६ लाख ७० हजार ८१ यात्रुले काठमाडौ छाडे । यही समयमा काठमाडौं उपत्यकामा एक लाख ५३ हजार ६१० सवारी साधनबाट ६ लाख २० हजार ८९ यात्रु भित्रिए ।
विगतका बर्षमा दसँैको समयमा काठमाडौं उपत्यका छाडेर जानेको संख्या ३० लाखको हाराहारीमा हुने अनुमान गरिए पनि यो बर्ष त्यो संख्या ६ लाखमात्रै देखिएको छ । यो बर्ष लकडाउन खुकुलो बनेसँगै असोजको सुरुवातदेखि नै काठमाडौं भित्रिनेको संख्या बढेको देखिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले असोज महिनामा उपत्यका छाड्ने र भित्रिनेको संख्या बराबर जस्तै देखिएको बताउनुभयो । ‘केहीदिनयता भित्रिनेहरुको भन्दा बाहिरीने सवारी साधनको संख्या बढेको छ’ ढकालले भन्नुभयो ।
नवरात्री लागेपछि काठमाडौं उपत्यका छाड्नेको सख्या १५ लाखको हाराहारीमा हुने गरेकोमा यो बर्ष तीन लाख मात्रै देखिएको हो । कोभिडको कारणले धेरै मान्छेले चैतमै उपत्यका छाडेकाले यो संख्यामा कमी भएको हुन सक्ने एसएसपी ढकालले भन्नुभयो ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव रवि रिमाल बसपार्कमा अघिल्ला बर्षहरुको तुलनामा दुई प्रतिशत पनि यात्रु नभएको बताउँछन् ।
विगतका बर्षहरुमा लाखौंको संख्यामा यात्रुहरु हुने बसपार्क अहिले सुनसान देखिएको उहाँले बताउनुभयो । विगतका बर्षहरुमा सुदुरपश्चिमा जाने गाडीहरु यो समयमा दैनिक तीन सयभन्दा धेरै जाने गरे पनि यो बर्ष १५ वटासम्म जानसमेत मुस्किल परेको रिमालले बताउनुभयो ।
विगतका बर्षहरुमा अग्रिम बुकिङ टिकट लगातयको कार्यले व्यस्त रहने बसपार्क क्षेत्र सुनसान देखिएको उहाँले बताउनुभयो । विगतका बर्षहरुमा तीस लाखसम्म यात्रुहरुले सार्वजनिक यातायात चढ्ने गरेकोमा यो बर्ष त्यो सख्या घटेर तीन लाखसम्ममा आएको रिमालले बताउनुभयो ।
छोटा रुटहरुमा यात्रुहरु देखिए पनि लामो रुटमा यात्रुनै नभएको उहाँले बताउनुभयो । काठमाडौंमा भएकाहरुले समेत साना तथा निजी सवारी साधनहरुको प्रयोग बढेकाले यात्रुबाहक सवारीमा यात्रुको संख्या कम भएको उहाँले स्पष्ट पार्नुभयो ।
सुध्रिएनन् सार्वजनिक यातायात
कात्र्तिक ४ गते काठमाडौंबाट सिन्धुलीको कोपिलाकोट जाँदै गरेको ना ४ ख ७३२ नंम्बरको यात्रुबाहक बसले बढी भाडा लिएपछि यात्रुहरुले प्रहरीलाई उजुरी गरेका छन् ।
काठमाडौंबाट कोपिलाकोट पुगेको भाडा ८५० रहेकोमा सो बसले एक हजार ४५० लिएपछि सो गाडीमा रहेको ३३ जना यात्रुको भाडा १९ हजार ८०० यात्रुलाई फिर्ता गराएको प्रहरीले जनाएको छ ।
महासंघका उपमहासचिव रिमाल भन्छन्, सकेसम्म टिकट काटेर मात्रै यात्रा गरेमा धेरै भाडा लिन पाउँदैनन् । उहाँले एकदुई वटा गाडीले गरेको बदमासीको कारणले सबै यातायात क्षेत्रलाई मुछ्न नहुने बताउनुहुन्छ । दैनिक रुपमा ट्राफिक प्रहरीले अस्थायी चेकपोष्ट समेत खडा गरेर चाडपर्वको मुखमा धेरै भाडा लिने, धेरै यात्रु बोक्ने, ओभर स्पिड तथा ट्राफिक नियम पालना नगर्नेलाई कारवाही गरिरहेको छ ।

तस्बिर विकास द्वारे केदार तिमल्सिना

 

 

You might also like