गोठालोबाट उद्यमी
२१ असोज /
बर्दिबास : २०५२ सालतिर उनी भैंसी चराउथे। स्कूलबाट आएपछि भैंसी लिएर जंगलतिर गोठालो लाग्थे। गाउँमा पिउने पानी थिएन। चामलको भात खान उनको परिवारलाई दसैं कुर्नुपथ्र्याे । तर, उनका दिन फेरिएका छन् अहिले। अहिले उनले लकडाउनमा रोजगारी गुमाएका एक सय २० जनालाई काम दिन सफल भए। त्यस्ता पौरखी युवा हुन् महोत्तरी बर्दिबासका ३७ वर्षीय केदार बस्नेत। करोडौंको लगानीमा बर्दिबास–८ स्थित बेंखाडी बजारनजिकै चप्पल–जुत्ता बनाउने उनको उद्योग छ। सबैतिर बजार बन्द रहँदा उनले लकडाउनमै नयाँ उद्योग सञ्चालनमा ल्याए। कोरोना महामारीले रोजगारी गुमाएका एक सयभन्दा बढीलाई रोजगारी पनि दिए।
‘दुःख कस्तो हुन्छ भन्ने मैले नजिकबाट भोगेको छु’, उद्योगी केदारले भने, ‘सहर बजारबाट अनुभव लिएर गाउँमै काम गर्न पाएको छु, खुसी लागेको छ।’ चप्पल–जुत्ता बनाउने तालिम पनि उद्योगले दिइरहेको छ। सीप सिकाई र आम्दानी दुवै पाएपछि गाउँले खुसी पनि छन्।
गाउँमा खुसियाली
गाउँमा उद्योग खुलेपछि गृहिणी महिलाले पनि रोजगारी पाए। बर्दिबास–८ की ३४ वर्षीय रमा आले पहिले घरमा बसेर दिन बिताउँथिन्। अहिले उनलाई बिहान छोराछोरीलाई खाना खुवाएपछि उद्योगमा काम गर्न जान हतारो हुन्छ। ‘गाउँमै रोजगारी पाउनु हाम्रो लागि ठूलो कुरो हो’, उनले भनिन्।
उद्योगमा काम पाएपछि भंगहाका २२ वर्षीय निरज चौधरी पनि खुसी छन्। उनी भन्छन्, ‘परिवारसँग बसेर गाउँमै काम गर्न पाउनुको मज्जा बेग्लै छ।’ लकडाउनअघि उनी मजदुरीका लागि भारतमा थिए। करोना महामारीले सीमा नाका बन्द भयो। उनी भारत जान पाएपनन्। तर, उद्योगले उनलाई रोजगारी दियो। उनी महिनाको १२ हजार कमाउँछन् र काम पनि सिकिरहेका छन्।
गौशाला– १ का सुभाष सेन्चुरी लकडाउनअघि गाडी चलाउथे। लकडाउने गाडी ठप्प भयो। उनको रोजीरोटी गुम्यो। तर, उनी अहिले केदारले सञ्चालन गरेको उद्योगमा काम गरिरहेका छन्।
दुःखले उद्योगी बनायो
कुरा २०५४ तिरको हो। जतिखेर केदारले एसएलसी पास गरेका थिए। पढाइ र रोजगारीको खोजीमा उनी काठमाडौं हानिए। राति क्याम्पस पढ्थे दिउसो फुटवेरका सामान पसल पसलमा पुर्याउथे। २० वर्षको मिहिनेतपछि उनले गाउँमै फुटवेर उद्योग स्थापना गर्न सफल भए। उनले उद्योगको नाम बस्नेत फुटवेर प्रा.लि. राखेका छन् भने ब्रान्डको नाम ‘सम्भ’ छ। कुनैबेला उनले होलसेलमा देशभर चप्पलजुत्ता सप्लाइ गर्थे।
विश्वास टिकाउँदा बदलियो भाग्य
केदारभन्दा अगाडि उनका बुवाले चीनको खासाबाट २–४ जोर जुत्ताचप्पल ल्याएर पसल पसल पुर्याउथे। एसएलसीपछि उनले पनि बुवालाई सहयोग गर्न थाले।
केदार काठमाडौं पुगेको केही वर्षमा उनका हजुरबुवाको देहान्त भयो। किरिया गर्न घर फर्केका उनका बुवाको सम्पूर्ण जिम्मेवारी केदारले नै सम्हाले। नेपाली–चिनी भन्सार गरेर मालसामान ल्याउने, पसलमा पुर्याउने सबै जिम्मा केदारकै काँधमा आयो।
मागअनुसारका सरसामान पसल–पसलमा पुर्याउन थाले। त्यसलाई निरन्तरता दिएर टिकाइराखे। जुत्ताचप्पलमा देशलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने हुटहुटी उनमा पलायो। त्यसपछि काठमाडौंको कोटेश्वरमा सानो उद्योग खोलेर अनुभव पनि लिए। अहिले उनले गाउँमा पाँच बिघा जग्ग्गा किनेर त्यसमा ठूलो उद्योग खोलेका छन्।
कामको खोजीमा काठमाडौं पसेका उनका बुवासँग एकदिन बिहान गाउँकै छोरी पर्नेसँग जम्काभेट भयो। ‘काका कता आउनु भएको ?’, फतबहादुरलाई उनले सोधिन्। उनी कामको खोजीमा थिए त्यही जवाफ दिए। ‘के काम गर्नु हुन्छ ?’, उनले भनिन्। फतबहादुरले भाडा माज्ने काम पाए पनि गर्ने जवाफ फर्काए।
ती भतिजीले उनलाई खासा गएर जुत्ताचप्पल, कटन कपडा, छाता ल्याएर बिक्री गर्न सुक्राव दिइन्। उनले त्यसका लागि पैसा पनि हालिदिने बताइन्। तर, साउँ फिर्ता गर्नुपर्ने र नाफा आफूसँगै राख्न पाउने शर्त राखिन्। यही मेसोबाट सुरु भएको केदारका बुवाको काठमाडौं यात्रा बर्दिबासको ठूलो उद्योगमा परिणत भएको छ।
छोरो उद्योगी बन्दा वृद्ध बुवा खुसी
खासाबाट सामान ल्याई केदारका बुवाले काठमाडौंको उटु, महाबौद्धमा घुमेर बिक्री गर्न थाले। एक महिनामा ३५ हजार खर्च कटाएर बचत हुन्थ्यो त्यतिबेला। बर्दिबासमा घडेरी किने। घर बनाए। छोराछोरी पढाए। ‘मैले उहिले २–४ जोर जुत्ताचप्पल ल्याएर बिक्री गर्थे। अहिले छोरोले त्यसको उद्योगै खोल्यो। छोरोको प्रगति देखेर खुसी लागेको छ’, वृद्ध फतबहादुरले भने। ..Annapurna post