नारायणी नदीमा पानीको बहाव उच्च : गण्डक ब्यारेजका सबै ढोका खोलिए

0

०८ असोज/

नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले बताए ।

व्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ । ब्यारेजमा अहिले ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड पानीको बहाव छ । यो बढ्ने क्रममा छ । ४ लाख क्यूसेक पुगेपछि उच्च खतरा मानिन्छ । देवघाट क्षेत्रमा पानीको सतह खतरामा पुगेको छ । उक्त पानी क्रमशः बग्दै आएको र त्यसले ब्यारेजलाई समेत जोखिममा पार्ने भएकाले सजगता अपनाइएको थापाले बताए ।

यसैबीच गण्डकमा पानीको सतह बढ्दै गएपछि तटिय क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । ब्यारेजका कारण पश्चिम नवलपरासीका करिब ४० गाउँ डुबानको जोखिममा पर्दै आएका छन् । संभावित क्षतिलाई जोगाउन जोखिम क्षेत्रमा पूर्वतयारीका साथ सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।

You might also like