बर्दघाटमा सार्वजनिक सडक बत्ती जडान कार्य तीब्र

0

नवलपरासी २७ भदौ – बर्दघाट नगरपालिकाले नगर उज्यालो कार्यक्रम अन्तरगत सार्वजनिक सडक बत्ती जडान कार्य तीब्र बनाएको छ । नगरले नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बर्दघाट शाखाको समन्वयमा सार्वजनिक सडक बत्ती जडान गरेको हो । कार्यक्रम अन्तरगत ८ सय २३ वटा बिद्युतका पोलमा स्वचालित बत्ती जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । बिद्युत प्राधिकरणसंगको सम्झौता र टोल विकास संस्थाहरुले संरक्षण गर्ने गरी सडक बत्ती जडान गरिएको र त्यसबाट समाजमा चोरी तथा अन्य अपराध समेत न्युनीकरण हुने आफ्नो विश्वास रहेको नगरप्रमुख बस्यालले बताउनुभयो ।


त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बिद्युतको पोल प्रयोग गर्ने सम्झौता र प्रति बत्ती मासिक करिब एक सय ५५ रुपैया पर्ने गरी टोल विकास संस्थासंगको समन्वयमा ८ सय २३ वटा स्वचालित सडक बत्ती जडान कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । तीन महिनाको बिद्युत शुल्क समेत नगरले बिद्युतलाई भुक्तानी गरेको छ ,मर्मत खर्च समेत नगरले बेहोर्छ – प्रमुख प्रशासकीय अधिकृत पाध्याले भन्नुभयो– सडक बत्तीको रेखदेख सम्बन्धित वडा कार्यालय मार्फत टोल विकास संस्थाले गर्नेछ ।
त्यस्तै नगरले ५० वाट क्षमताको अध्यारो भएपछि बल्ने र उज्यालो हुदाँ आफै निभ्ने सडक बत्ती निशुल्क जोडेपछि वडा वडाका टोलहरु झिलिमिलि भएको स्थानीयले बताएका छन् । दिब्यनगर टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले टोलमा २९ वटा सडक बत्ती जडान भएपछि टोल नै झिलिमिली भएको जानकारी दिनुभयो । यस अघि नगरले सौर्य बत्ती जडान गरेको थियो ।

You might also like