सैनामैनामा ‘संक्रमित’को घरमा श्राद्ध गराउन गएका पुरोहितसहित २५ जना आइसोलेशनमा

0

भदौ १८,

बुटवल-रुपन्देहीको सैनामैनामा एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल शिल गरिएको छ।

सैनामैना ११ की ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको थियो। बुधबार बेलुका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आएकी उनमा ज्वरो र कडा खालको निमोनिया देखिएको थियो।

कोरोना भाइरसको संक्रमणका लक्षण देखिएपछि अस्पतालमा जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

‘अस्पतालमा आउँदा ज्वरो थियो, हामीले जिन एक्सपर्टबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो, त्यसपछि उपचार थालेका थियौं, उनले भने-बिहान साढे ४ बजे उहाँको मृत्यु भयो, उहाँ घरबाट आउँदा नै एकदमै कमजोर भइसक्नुभएको थियो, निमोनियाले गलाइसकेको थियो।’

उनका अनुसार ती महिला करीब ३-४ दिनदेखि निमोनियाबाट ग्रस्त थिइन्। उनलाई कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो।

उनी केहीदिनयता बिरामी रहेको र घरपरिवारले सामान्य ज्वरो ठानेर घरमै उपचार गराइरहेका थिए। उनको घरमा बुधबार श्राद्ध रहेको र श्राद्धपश्चात् स्थानीय मेडिकलमा उपचारका लागि गएका उनीहरुलाई मेडिकलका स्वास्थ्यकर्मीले बुटवल जान सुझाएका थिए।

उनको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि सो टोलका २५ जना होम आइसोलेशनमा बसेका छन्। उनका छोराको दुध डेरी रहेको र डेरीमा दुध लिन आउनेहरु र श्राद्धमा सहभागी भएका घरपरिवार आइसोलेशनमा बसेका वडा नं ११ का अध्यक्ष सुनील मरासिनीले जानकारी दिए।

उनका अनुसार टोल शिल गरेर घरबाहिर निस्किन रोक लगाइएको छ। ‘उहाँ पहिलेदेखि नै बिरामी हुनुहुँदो रहेछ, हिजो उहाँहरुको घरमा श्राद्ध रहेछ र त्यसपछि चेक गराउनुपर्‍यो भनेर नजिकै मेडिकलमा जानुभएछ र त्यहाबाट बुटवल पठाएपछि उहाँको उपचारका क्रममा मृत्यु भयो र कोरोना संक्रमण पनि पुष्टि भयो-वडाध्यक्ष मरासिनीले भने-त्यसअघि सामान्य ज्वरो भनेर सहज रुपमा लिएर उहाँको सम्पर्कमा गएका र उहाँको परिवारको सम्पर्कमा गएकाहरु गरी २५ जना होम आइसोलेशनमा हुनुहुन्छ।

सो घरमा श्राद्ध गराउन गएका पुरोहितसमेत होम आइसोलेशनमा रहेका छन्। उनका अनुसार ५ दिनपछि २५ जनाकै पीसीआर परीक्षण गरिनेछ र रिपोर्टअनुसार थप परीक्षण गर्नुपर्ने/नपर्ने टुंगो लगाएर थप निर्णय लिइनेछ।……..Lumbini times

You might also like