प्लाज्मा दान गर्ने व्यक्तिलाई नेपाल चिकित्सक संघले सम्मान गर्ने

0

भदौ १६,

काठमाडौँ – नेपाल चिकित्सक संघले देशभरका कोरोना भाइरसबाट संक्रमित भइ निको भएर अन्य संक्रमित बिरामीहरुको जीवन रक्षा गर्नका लागि ‘प्लाज्मा’ दान गर्ने सम्पूर्ण व्यक्तिलाई सम्मान गर्ने भएको छ।

प्लाज्मा दान गर्ने सम्पूर्ण व्यक्तिहरुको विवरण संकलन गरी निकट भविष्यमा ‘प्रशंसा–पत्र’सहित उच्च सम्मान व्यक्त गर्ने निर्णय गरिएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

संघका तर्फबाट महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘१ पिन्ट प्लाज्मा’बाट हजारौँ मानिसलाई जोगाउन सकिने भएकोले यो पवित्र कार्यमा संलग्न हुन कोरोना भाइरस संक्रमित भइ निको भएका बिरामीलाई अपिल गरिएको छ।

‘कोरोना भाइरस संक्रमणको निदानका लागि हालसम्म प्रभावकारी औषधी तथा इन्जेक्सनको अनुसन्धान भइरहेको विद्यमान अवस्थामा ‘प्लाज्मा’ थेरापी वरदान सावित भएको तथ्यलाई हृदयगंम गर्दै संक्रमित बुवाआमा, दाजुभाई, दिदीबहिनीहरुको जीवन रक्षाका निम्ति कोरोना भाइरसलाई पराजित गर्नुभएका तपाई सम्पूर्ण योद्धाहरुको ‘१ पिन्ट प्लाज्मा’बाट हजारौं मानिसलाई जोगाउन सकिने पवित्र कार्यमा संलग्न हुन नेपाल चिकित्सक संघ सबैमा हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

साथै हाल नेपालका विभिन्न ठाउँमा संक्रमण भइ निको भएका व्यक्तिहरुले संक्रमणको दौरानमा अपनाएको सजगता, घर परिवार तथा समाजले प्रदान गरेको हौसला र आवश्यक उपचारका कारण निको भएको अनुभव र संक्रमित हुँदा सिर्जना भएको मानसिक तनाव लगायतका अनुभवहरुलाई सार्वजनिक गरी अन्य संक्रमितहरुको मनोबल उच्च पार्दै उपचारमा नीजहरुकै सहयोग र प्लाज्मा दानबाट जीवन रक्षा गरी समाजमा पुनर्स्थापना गराउन सकिने सन्देशसहितको अभियान संघको तर्फबाट संचालन गरिने व्यहोरा पनि जानकारी गराइएको छ।

‘यस मानवीय कार्यमा संलग्न हुने तपाईलाई कुनै पनि शारीरिक तथा मानसिक असर नपर्ने र तपाईले गर्नुभएको अमूल्य सहयोग र योगदानका कारण अन्य संक्रमित व्यक्तिहरुको समेत जीवन रक्षामा उल्लेख्य सहयोग पुग्ने व्यहोरा समेत अवगत गराइन्छ ’, विज्ञप्तिमा भनिएको छ।

‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’ (‘सिपिटी’) कोरोना भाइरस संक्रमणका बिरामीलाई गरिने एउटा उपचार विधि हो ।

यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको१४ दिनपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको ‘प्लाज्मा’ (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमित व्यक्तिलाई दिइन्छ।..desh sanchar

 

You might also like