लिदीमा पहिरोले बस्ती छोप्यो : १३ घर पुरिए, पाँच परिवार सम्पर्कविहीन

0

श्रावण ३०, २०७७

सिन्धुपाल्चोक — अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो ।

तस्बिर सौजन्य : फूलकाजी स्याङ्बो

पहिरोमा केही स्थानीय पुरिएको अनुमान गरिए पनि स‌ंख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ । ‘एक दर्जन घरमा पूर्ण क्षति पुगेकाे भन्ने छ, कति मान्छे बेपत्ता भए अहिल्यै भन्न सकिने अवस्था छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘सुरक्षाकर्मी घटनास्थल पुग्दै छन्, तत्कालै उद्धारका लागि जुटिरहेका छौं ।’

गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारी दिए । उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए । बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन । ‘पहिराेबाट १५ जना भने बाहिर निस्केका छन्,’ उनले भने, ‘उनीहरुलाई नजिकै सुरक्षित स्थानमा राखिएको छ ।’ उनले उद्धारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जनाए ।

स्थानीय आशबहादुर दोङले गाउँलेहरुले उद्धारका लागि हारगुहार गरिरहेको फाेनमा बताए । ‘यहाँ सुरक्षाकर्मी आइपुगेका छैनन्, जताततै कोलाहल छ, कुनै घरमा ३, कुनैमा ६ जनासम्म सदस्य छन्,’ उनले भने, ‘यकिन यति जना बेपत्ता भन्न सकिएको छैन ।’

गएको असार २६ गते गएको पहिरोले जुगल–२ सानुमाम्फा र लिदीको बस्ती उच्च जोखिममा परेको थियो । त्यसलगत्तै प्रशासन, गाउँपालिकादेखि जनप्रतिनिधिसम्मलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले अन्यत्र सुरक्षित स्थानमा लैजान आग्रह गरेको दोङले जनाए । ‘त्यति बेला कसैले वास्ता गरेन, अहिले यस्तो दु:खद घटना भयो,’ उनले भने ।

अन्यत्र जान सम्भव नभएपछि लिदीका १ सय ७० घरधुरी त्रासमा बसिरहेका थिए । जिल्लाको दुर्गम भेग लिदी पुग्न सदरमुकामबाट पैदल दुई दिन लाग्छ ।

Kantipur

You might also like