आजदेखि ४ दिन भीषण वर्षा हुने, बाढी तथा पहिरोको उच्च जोखिमः सतर्क रहन आग्रह

0

काठमाडौँ, साउन ४ ।

आजदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित रहेकोले देशभर मनसुन सक्रिय भएको छ ।
आजदेखि साउन ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार दिन मनसुन तीव्र रूपमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण वर्षापछि हुने सम्भावित प्राकृतिक विपत्तिविरुद्ध तयारी थाल्न जल तथा मौसम विज्ञान विभागले सरोकारवालालाई अनुरोध गरेको छ ।
विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठले आगामी चार दिन देशका धेरैजसो स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताइन् ।
वर्षाका कारण विभिन्न भेगमा बाढी तथा पहिरोको उच्च जोखिम रहेको मौसमविद् वरुण पौडेलले बताए । साउन ५ देखि ८ गतेसम्म प्रदेश–१, २, बाग्मती र गण्डकी प्रदेशका कन्काई तमोर, सुनकोसी, सप्तकोसी, कमला, वाग्मती, लालबकैया, बूढीगण्डकी, सेतीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी तथा यी नदीका सहायक नदीको जल सतह बढेर केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको जलविज्ञ सुनील पोखरेलले बताए ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशतर्फ मध्य पहाडी, चुरे र तराईबाट बहने एक÷दुई नदीनालामा आकस्मिक बहाव हुने सम्भावना छ ।

यसैबीच, कैलालीको भजनी नगरपालिकामा १५० घर डुबानमा परेको छ । शनिबार बिहानदेखि परेको बर्षाका कारण नदीमा आएको बाढीले डुबान भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार काँढा नदीमा आएको बाढी गाउँमा पसेको छ । भजनी नगरपालिका–२ को मोहनपुर, वडा नम्बर ३ को काँढा र ढुसी गाउँका गरी करिब डेढ सय घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

‘गाउँमा बाढी पसे पनि ठूलो क्षति भने भएको छैन’, उनले भने, ‘मान्छेहरू पानी पसेको घरमै बसेका छन् ।’ धेरै ठूलो बाढी नरहेका कारण प्रभावितलाई अन्यत्र सार्नुपर्ने अवस्था नरहेको विष्टले बताउनुभयो ।

Mirmire online

You might also like