यसकारण मान्छेले आत्महत्या गर्छ
नवलपुर,साउन ३ । रोजगारीका शिलशिलामा विदेश गएकादेखि स्कुल पढ्दै गरेका विद्यार्थीसम्मले आत्महत्या गरेका घटनाहरु सुनिन्छन् । असफल भएपछि जीवनदेखि हारखाएर मानिसले आत्हत्याको सहारा लिन्छ ।
खागरी अधिकांश युवायुवतीहरु प्रेममा परेर असफल भई आत्महत्या गर्ने गरेको घटना बढी सुनिएका छन् । मानसिक समस्याकाबारेमा मनोविद् गोपाल ढकालसँग नवलपुरकर्मी चन्द्रा महतो ले गरेको कुराकानीको सम्पादित अंश ।
नेपालमा मात्र होइन, विश्वमै आत्महत्याका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छ । अहिले विश्व ब्यापी बनेको कोरोना संक्रमणकाबेला आत्महत्याका घटना झनै बढेका छन् । कारण के हुन सक्छ ?
पत्रपत्रिका अनलाइन सञ्चारमाध्यममा आत्महत्या भयावह रुपमा बढेको समाचार आइरहेको छ । तर भयावह रुपमा बढेको होइन, पहिले पनि समस्या थियो । गतवर्षको तथ्यांकअनुसार ५ हजार ७ सय ५४ ले आत्महत्या गरेका छन् । सो तथ्यांकअनुसार दैनिक १६ जनाले आत्महत्या गर्ने गरेका छन् । अहिलेको लकडाउनको तीन महिना अवधिमा १५ सयको हाराहारीमा आत्महत्या गरेको तथ्यांकले देखाएको छ । जुन दैनिक १७ जना आत्महत्या गर्दछन् भन्ने बुझाउँछ । यो तथ्यांकलाई केलाउँदा पछिल्लो संक्रमणकै कारण आत्महत्या गर्ने बढेको मान्न सकिदैन ।
यस्तो प्राकृतिक विपत्ति बढ्दा मानसिक स्वास्थ्य समस्या बढेर जानु स्वभाविक हो । डिप्रेशन तथा अरु खालका समस्या पनि बढ्न सक्छ । मानिस कुलतमा फसेर पनि अन्तमा आत्महत्याको बाटो रोजेका थुप्रै घटनाहरु सुनिएका छन् । समग्रमा मानसिक समस्याकै कारणबाट आत्महत्या बढ्छ । तुलनात्मक रुपमा सामान्य अवस्थामा पनि प्रत्येक वर्ष ८ देखि १० प्रतिशतले आत्महत्या बढिरहेको छ ।
प्रत्येक वर्ष आत्महत्या बढ्नु स्वभाविक हो । तर अहिलेको कारोना संक्रमण र लकडाउनले मात्रै आत्महत्या भयावह भएको भन्नु गल्ती हुन्छ । त्यसले अर्को डर त्रास मात्रै पैदा गर्छ । त्यसैले यो अहिलेको मात्र समस्या नभई पहिलेदेखिकै समस्या हो । र, नेपालमा मात्र नभई यो विश्वमै समस्या बनेको छ ।
आत्महत्या गर्ने कारणहरु के के हुन् ?
प्रेममा धोका पाएर, ऋण तिर्न नसकेर तथा लकडाउनको कारणले आत्महत्या गरेको भन्ने भन्ने समाचारहरु पत्रपत्रिकामा आए पनि ऋण लागेर, प्रेममा धोका खाएर मान्छेले आत्महत्या गर्दैन । आत्महत्याको पहिलो कारण मानसिक समस्या नै हो । ९० प्रतिशत आत्महत्याको घटना मानसिक समस्याले नै हुन्छ । त्यसमध्ये ८० प्रतिशत आत्महत्या डिप्रेसनको कारणले हुन्छ ।
डिप्रेसन पनि मानसिक समस्या हो । कहिलेकाहीँ आवेगमा आएर पनि मान्छेहरु आत्महत्या गर्छन् । कहिले लागुऔषधको प्रयोगको कारणले पनि आत्महत्या गर्दछन् । प्रेममा असफल, आर्थिक समस्या आत्महत्याको कारण नभई त्यसबाट सिर्जित मानसिक समस्याले मानिसमा डिप्रेसन हुन्छ । त्यस्तो बेलामा उपचार भएन भने मात्र आत्महत्या गर्ने हो ।
यसको प्रमुख कारण मानसिक समस्या नै हो । प्रेममा असफलता, विभिन्न किसिमको लाञ्छना, सामाजिक कारण, आर्थिक क्षतिको कारण तथा परिवारमा भएको दुखद घटना लगायतका दृष्टान्तले मानिसमा मानसिक समस्या हुन जान्छ । त्यसैले हामीले प्रेममा असफलता ऋण लाग्यो भनेर समाचारमा लेख्यो भने त्यो गलत हुन्छ । यस्ता खालका समाचारले गर्दा समाजमा गलत अर्थ जाने हुदा जसले गर्दा थप समस्या सिर्जना गर्छ । एउटा मात्र कारणले मानिसले आत्महत्या गर्दैन ।
आत्महत्याको खबरलाई सञ्चारमाध्यामले कतिको स्थान दिनु कति उचित हो ?
ठूला मिडियाले पनि आत्महत्याको खबरलाई सही रुपमा प्रकाशन÷प्रसारण गरेको पाइँदैन । जसले समाजमा नकारात्मक सन्देश प्रवाह हुन्छ । आत्महत्याको समाचारलाई प्राथमिकताका साथ राखिनु ठीक होइन । आत्महत्यालाई मुख्य शीर्षक नै बनाएर राख्नु हुँदैन । समाचारको अन्तिममा गएर मृत्युको कारण आत्महत्या भएको कुरा उल्लेख गर्न सकिन्छ जस्तो मलाइ लाग्छ । हामीले मृत्युको समाचार दिने हो तर आत्महत्याको होइन । समाचारमा आत्महत्याको माध्यम बताउनु भएन । माध्यम बताउने बित्तिकै मान्छेले त्यसको सिको गर्छन् ।
विशेषतः बालबालिकाहरुले सिको गर्ने सम्भावना धेरै भएकोले आत्महत्याको समाचार वा आत्महत्याको कुनै पनि पनि विषय समाजिक सञ्जालहरुमा शेयर गर्नु उचित होइन । सञ्चारमाध्यमले समाजमा जनचेतना फैलाउने हो, समाजलाई समस्यामा पार्ने ,आत्महत्यालाई थप भयाबह बनाउनेतर्फ उत्प्रेरित गर्नु हुँदैन । त्यसैले समाचार लेख्दा घटनालाई सारांशमा लेख्ने अनि त्यसमा विज्ञहरूको भनाइ उद्धृत गर्न सकिन्छ । अहिलेकै अवस्थामा आत्महत्याको समाचारले मानिसमा त्यस्तै किसिमको चिन्तन बढ्न सक्न सक्छ । एकजनाले आत्महत्या गर्यो भने १ सय ३५ जनालाई प्रभाव पार्छ ।
त्यसैले त्यस्ता दुःख घटना,संवेदनशील घटनालाई हामीले सम्प्रेषण गर्दा समाचार बनाउँदा सन्तुलित बनायौं , सकरात्मक रुपमा लेखेनौं भने समाजमा अझ धेरै असर पर्छ । समाचार सकारात्मक उद्देश्य र सकारात्मक सन्देश जाओस् भनेर समाचार लेखे पनि तरिका नमिल्दा आत्महत्याको समस्या झनै बढेर जान्छ ।
आत्महत्या खासगरी कुन उमेर समूहका व्यक्तिहरुले बढि गरेको पाइन्छ ?
कोरोना संक्रमण रोक्न भन्दै अधिकांश मुलुकमा गरिएको लकडाउनले बढी असर बालबालिकामा परेको छ । गत आर्थिक वर्षमा २५० जना बालबालिकाले आत्महत्या गरेका थिए भने यो लकडाउनको ३ महिनामा १ सय ७२ जना १८ वर्षभन्दा कम उमेरका बालबालिकाले आत्महत्या गरेका छन् । लकडाउनले गर्दा बालबालिकामा जोखिम बढेको छ । बालबालिकामा चिन्ता, पीडा तथा तनाव कम हुन्छ नै तर पीडै हुँदैन भन्ने होइन ।
सानै उमेरका बालबालिकाले पनि आत्महत्या गर्नसक्छन् । बालबालिकाले आत्महत्या गर्नुको कारण मुख्यतः देखासिकी नै हो । जब आत्महत्याको सनसनीपूर्ण समाचार आउछ तब बच्चाले चर्चा हुने विषय पो रहेछ भने देखासिकी गर्न खोज्छ । यसले गर्दा बालबालिकामा पनि आत्महत्याको सोंच विकास भएको हुन्छ । बालबालिकामा मरेको सिको गर्न खोज्छ तर मरेपछि फेरि फर्केर आइदैन भन्ने ज्ञान हुँदैन ।
विश्वमा १५ बर्ष देखि २९ बर्ष उमेर समूहमा मृत्युको दोस्रो कारण आत्महत्या बनेको छ । विश्वमा १५ देखि ४५ वर्ष उमेर समूहमा आत्महत्या बढी हुने गरेको छ । ६० वर्ष उमेर कटेका जेष्ठ नागरिकले पनि आत्महत्या नगर्ने होइनन् । अत्याधिक मदीरा सेवन गर्ने, एकल महिला, एकल पुरुषमा डिप्रेसन हुने सम्भावना बढी हुने हुँदा आत्महत्याको जोखिम बढि हुन्छ ।
आत्महत्या गर्नेमा महिला र पुरुषको संख्या कस्तो छ?
नेपालको तथ्यांक हेर्ने हो भने महिलाभन्दा पुरुषको आत्महत्याको संख्या बढी छ । तर आत्महत्याको प्रयास चाहिँ पुरुषले भन्दा महिलाले धेरे गर्छन् । सबैको आत्महत्या प्रयास सफल हुँदैन । महिलाको आत्महत्या गर्ने प्रयास धेरै रहेतापनि बाँच्ने सम्भावना महिलाहरूको हुन्छ । पुरुसले प्रयास गरिसकेपछि महिलाको तुलनामा बाँच्ने सम्भावना कम हुन्छ । यसको अर्थ पुरुषले कडा खालको उपाय अपनाउने गर्छ । नेपालमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरे पनि विश्वमा धेरै आत्महत्या गर्ने महिलाको सूचीमा नेपाल तेस्रो स्थानमा छ ।
आत्महत्यालाई निरुत्साहित गर्ने, अथवा कम गर्ने उपाय के हुन सक्छ ?
आत्महत्याको समस्या न्यूनीकरण गर्न सकिन्छ । आत्महत्या मानसिक रोगको कारणले हुने हुँदा बेलैमा उपचार गर्नुपर्छ । डिप्रेसन छ भने जसरी हुन्छ तनावबाट टाढा हुन पर्यो । लागुऔषधजस्ता कुलतमा फसेको छ भने कुलतबाट बच्नुपर्यो ।
अर्को महत्वपूर्ण कुरा जनचेतना हो । मान्छेले आत्महत्या गर्नुपूर्व लक्षणहरु देखाउँछ त्यसलाई बेलैमा चिन्न सकेमा रोक्न सकिन्छ । पीडितको कुरा सुन्ने र उसको चिन्ता तथा समस्या निराकरण गर्ने तथा हौसला प्रदान गरेर पनि मानिसको मनोबल बढाउन सकिन्छ । सञ्चारमाध्याम पनि संवेदनशील हुनु पर्यो भने राज्यले मानसिक स्वास्थ्यको बारेमा लगानी बढाउनु पर्छ ।
अन्तमा, अन्तिम विकल्प आत्महत्या देख्ने मान्छेलाई के सुझाव दिनुहुन्छ ?
जीवनबाट पराजित भएपछि मानिसले आत्महत्या रोज्ने हो । तर तपाईं निराश हुनुहुन्छ, तपाइको समस्या छ, संसार अन्धकार लागेको छ भने तपाई डिप्रेसनको शिकार बन्नुहुन्छ । तर यो रोग हो, रोग निको हुन्छ भन्ने तपाईँले बुझ्नुपर्छ । जीवन उज्यालो थियो र, छ भन्नेमा पुग्नुस् । रोग निको हुने बित्तिकै म पहिलेकै अवस्थामा सुखी र खुशी हुनेछु भन्ने बुझ्नुपर्छ । क्षणिक सोंच, उतेजनाले गर्दा मान्छले नकारात्मक सोंच्ने हो । एकछिन धैर्य गर्याे भने सोंचमा परिवर्तन आउँछ ।
त्यही भएर धैर्य गर्नु, साथीभाई तथा इष्टमित्रको मद्दत माग्नु, सहयोग लिनु पर्छ । तपाई निरास हुनु भयो भने तपाईँको समस्या आफ्नो नजिककालाई सेयर गर्नुस्, थोरै बाँच्ने आशा पलाएर जान्छ । त्यसपछि आत्मबल विस्तारै बढ्छ । अन्तिम विकल्प आत्महत्यालाई नठान्नु । किनकि आत्महत्या गरिसकेपछि जीवन फेरि फर्केर आउदैन भन्ने पनि सोंच्नुस् । पछि, पश्चात्ताप गर्ने मौका मिल्दैन ।
Nawalpur khaber