राजमार्गको जग्गा व्यक्तिहरूको नाममा, बैंकमा धितो राखेर ऋण समेत झिकेको खुलासा

0

चितवन, २६ असार । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ पुरानो राजमार्ग रहेको ठाउँमा न कुनै गाडी गुड्छन्, न त्यो जग्गा सरकारको अधिनमा नै छ । राजमार्गको कुनै निसाना नै नभएको त्यो ठाउँमा व्यक्तिहरुले ठुलठुला घर बनाएका छन् । २०२२ देखि ०३३ सालसम्म पुर्व–पश्चिम राजमार्गको रुपमा रहेर गाडीहरु गुडेको उक्त सडक अहिले घरहरुले भरिएको छ । त्यो बेला बेल्सीको पुरानो पुल हुँदै शान्तिचोकसम्म बसहरु गुड्थे । २०१७ सालदेखि बेल्सीमा बस्दै आएका एक स्थानीय माया राम चौधरीले भने ।

२०३३ सालमा राप्ती नगरपालिकाबाट पश्चिम रत्ननगर नगरपालिकाको शन्तिचोकसम्म नयाँ मार्ग खोलियो । त्यसपछि पुर्व पश्चिम गुड्ने सवारी साधन पुरानो राजमार्गमा गुड्न बन्द भयो । गाडी नगुडे पनि बेल्सीको पुरानो पुलबाट पुर्व राप्ती नगरपालिकासम्म अहिलेपनि पुरानो राजमार्ग कायम छ । तर बेल्सीपुलबाट पश्चिमतर्फको करिव ५ सय मिटरको दुरीमा भने व्यक्तिका संरचनाहरु बनिरहेका छन् । पुरानो राजमार्गलाई विस्थापन गर्ने गरी पुल समेत भत्काईएको छ ।

अहिले रत्ननगर नगरपालिका- ३ अन्तरगत पर्ने बेल्सी खोलादेखि शान्तिचोकसम्मको पुरानो राजमार्ग नै व्यक्तिको नाममा दर्ता भएको हो । नापी कार्यालय चितवनको नक्साअनुसार, साढे १४ कठ्ठा सडकको जग्गा व्यक्तिहरूको नाममा देखिएको छ । २०५५ पौष ९ गते र पौष १९ गते कृष्णहरि खनालको नाममा राजमार्ग दर्ता भएको नापी कार्यालयका नापी अधिकृत रामकान्त आचार्यले जानकारी दिए । उनका अनुसार, सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति चितवनको सिफारिसका आधारमा राजमार्ग व्यक्तिको नाममा दर्ता भएको छ । २१ वर्षको अवधिमा राजमार्गको जग्गा कारोबार हुँदै अहिले १७ कित्तासम्म पुगेको छ । उनीहरुले सो जग्गालाई धितो राखेर विभिन्न बैंकबाट ऋण समेत निकालेका छन् ।

राजमार्गको जग्गा आफ्नो नाममा गर्नेमा जिल्लाका राजनितिज्ञदेखि व्यापारीसम्म रहेका छन् । राजमार्गको लालपुर्जा प्राप्त गर्नेमा पुर्वी चितवन कुखुरा व्यवसायी मञ्चका अध्यक्ष कृष्णहरि खनाल पनि छन् । भुमिहीनहरुलाई जग्गा उपलब्ध गराउनका लागि राज्यले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको बेला राजमार्ग ब्यक्तिको नाममा दर्ता भएको पाईएको छ ।

२०५५ सालमा सुकुम्बासी समस्या समाधान जिल्ला समिति चितवनका तत्कालीन उपाध्यक्ष भीमप्रसाद थपलियाको अध्यक्षतामा बसेको बैठकले तत्कालीन राजमार्ग कित्ता नम्बर ७९ लाई व्यक्तिको नाममा दिएको देखिन्छ ।

तर थपलियाले  भने राजमार्गकै जग्गा नदिएको जिकीर गरेका छन् । उनले राजमार्गको जग्गा झुक्काएर लिएपनि बदर हुन बताउछन् । आयोगको निर्देशिकामा पानीघाट, गौचरण सडक कसैले भोग कमोद गरेको भए पनि नदिने विषय उल्लेख गरिएको पाईन्छ । थपलियाले राजमार्गको जग्गा नदिएको बताए पनि उनकै अध्यक्षतामा बसेको बैठकले दिएको देखिन्छ । थपलियाको अध्यक्षतामा २०५५ मंसिर २७ गते बसेको बैठकले सडक अन्तरगतको १२ कठ्ठा जग्गा दिने निर्णय गरेको छ ।

“साविक हाजिपुर गाविस वडा नम्बर ६ “ख”को कित्ता नम्बर ७९ मध्येको १२ कठ्ठा सडक मध्येबाट कित्ताकाट भै निर्णय भएकोमा पूर्वतर्फको केही भाग नदीको थप काटी हुन आउने क्षेत्रफलमा साविक सडक जनाए तापनि हाल स्थानीय व्यक्तिहरु तथा नगरपालिका समेतको सर्जिमिन मुचुल्का समेत भई भोगअनुसारका व्यक्तिहरुलाई दर्ता गर्न सहमति देखिएकाले श्री ५ को सरकारलाई आवश्यक अवस्था विद्यमान कानुन बोमोजिम स्वीकार भएमा गर्ने गरी आयोगबाट दिने थप निर्णय गरिएको माईनुटमा लेखिएको छ ।” माईनुटमा १२ कठ्ठा सडकको जग्गा दिने भने पनि नापि कार्यालयको श्रेस्ता हेर्दा साढे १६ कठ्ठा जमिन गएको छ । नापी कार्यालयको श्रेस्ताअनुसार साढे दुई कठ्ठा विष्णुप्रसाद उपाध्याय खनाल र १४ कठ्ठा जमिन सुकुम्बासी समस्या समाधान जिल्ला समिति चितवनको निर्णय अनुसार दिएको देखिन्छ ।

वर्तमान नक्सा
पुरानाे नक्सा

कानुनले सडक सीमा मिची अव्यवस्थित रुपमा बसोबास गर्ने व्यक्तिहरुलाई स्थानीय प्रशासनको सहयोगमा हटाउन स्पष्ट निर्देशन दिएको छ । त्यतिखेरको सकुम्बासी समस्या समाधान समिति चितवनले करिब ८ महिनाको अवधिमा ६ हजार ६ सय ३१ जनालाई लालपुर्जा वितरण गरेको थियो । २०५५ सालमा रत्ननगर नगरपालिकामा मेयर नारायण वन नै थिए । उनी पनि यस विषयमा आफुहरुलाई थाहा नभएको बताउँछन् ।

राजमार्ग व्यक्तिको नाममा दर्ता हुँदा सडक डिभिजन कार्यालयले संरक्षणमा कुनै चासो देखाएको छैन । कार्यालयले सडक जता जान्छ त्यो भाग मात्र हेर्ने गरेको कार्यालय प्रमुख ई. कृष्णराज अधिकारी बताउछन् ।

हाल राजमार्गको जग्गामा लालपुर्जा भएका व्यक्तिको विवरणः

News24Nepal

You might also like