नगर प्रमुख बस्यालसहितको टोलीद्वारा पशुपन्छी विकास शाखाका योजना अनुगमन

0

नवलपरासी १२ असार – बर्दघाट नगरपालिकाको पशुपन्छी विकास शाखाबाट भएका योजनाहरुको नगर प्रमुख धीरज शर्मा बस्यालसहितको टोलीले शुक्रवार अनुगमन गरेको छ । नगरको पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्साल सहितको टोलीले शाखाबाट भएका योजनाहरुको अनुगमन गरेको हो ।


सो क्रममा बर्दघाट –५ का घाँस विकासमा अनुदान प्राप्त कृषकहरु, वडा नम्बर १ स्थित सरस्वती कुखुरा बाख्रा फर्म, वडा नम्बर १३ स्थित माछा उत्पादक कृषक एंव नगरको सहयोगमा सुधारिएको बर्दघाट–२ स्थित राना फ्रेस हाउसलगायतका योजना अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा नगर प्रमुख बस्यालले चालू बर्षमा पशुपन्छी विकास शाखाबाट भएका कार्यहरु प्रभावकारी रहेको आफूले पाएको बताउनुभयो । उहाँले नगरको पहिचान कृषि तथा पशुपालनक्षेत्रले राख्न सक्ने भएकोले यसक्षेत्रमा आगामी बर्ष समेत बिभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिएको बताउनुभयो ।

त्यस्तै पशुपन्छी विकास शाखाका प्रमुख एंव अधिकृत लम्सालले घाँसमा आधारित पशुपालनले मात्र दुध तथा मासुजन्य उत्पादनमा लागत न्युनीकरण गर्न सहयोग गर्ने भएकोले चालू बर्षमा घाँस उत्पादनको क्षेत्रमा लगानी गरिएको बताउनुभयो ।
उहाँले चालू बर्षको यस अवधि सम्म ८३ हजार सुपर नेपियरका बेर्ना÷सेडस कृषकहरुलाई वितरण गरिएको र त्यसबाट ४ सय बढी कृषकहरु लाभान्वित भएको जानकारी दिनुभयो ।
त्यस्तै बर्दघाट ७ का घाँस उत्पादक कृषक भोजराज थापाले बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले घाँसको ब्यवसायिक उत्पादनलाई सहयोग गर्न आफू कहाँबाट सुपर नेपियर घाँसका बेर्ना÷सेडस खरिद गरिदिएर उत्साह थपेको बताउनुभयो । अहिले घाँसका बेर्ना कहाँ बेच्ने हो भन्नुपरेन –टोलीमा पुगेका पत्रकारसंग थापाले प्रतिक्रिया दिनुभयो – घाँसका बेर्नाहरु लिन अझ पनि कृषकहरु आइरहनुभएको छ । उहाँको कृषि फर्ममा कडकनाथ जातका कुखुरा र बाख्रा छन् । त्यस्तै पशुपन्छी विकास शाखाले चालू बर्षमा गाईभैसीलाई भ्यागुते, चरचरे र खोरेत रोग बिरुद्धका खोपहरु संचालन गर्दै आएको छ भने बाख्रामा पी.पी.आर महामारीका बिरुद्ध समेत खोप लगाउदै आएको छ ।
नगरपालिकाले गाई, भैसी तथा बाख्रामा कृतिम गर्भाधान गरी नश्ल सुधार गर्न प्रोत्साहन स्वरुप प्रति पशु तीन सय रुपैया अनुदान दिदै आएको जनाएको छ ।  बंगुरपालक कृषकलाई मध्यनजर गर्दै बंगुरमा हुने स्वाइन फिबर बिरुद्धको खोप समेत लगाउदै आएको बताइएको छ ।

You might also like