कुन कुन पालिकाले नीति कार्यक्रम प्रस्तुत गर्दैछन् ?

असार १० भित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान

0

नवलपरासी ९ असार – प्रदेश पाँचका पश्चिम नवलपरासी, रुपन्देही, कपिलबस्तु सहित देशैभरका स्थानीय तहले असार १० गते बार्षिक नीति तथा कार्यक्रम पेश गर्दैछन् । स्थानीय तहहरुले असार १० भित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान अनुसार नीति तथा कार्यक्रम र बजेटको अन्तिम तयारी पूरा भएको जनाएका छन् ।
पश्चिम नवलपरासी जिल्लाका स्थानीयतहमा आगामी वर्षको बार्षिक नीति तथा कार्यक्रम असार १० गते बिहानै गरिदैछ ।
पश्चिम नवलपरासीका बर्दघाट नगरपालिकाले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिकरण बिहान ९ बजेदेखि दाउन्ने पार्टी प्यालेसमा शुरु हुने नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । उहाँका अनुसार नीति तथा कार्यक्रमको अन्तिम रुप मंगलवार कार्यपालिकाको बैठकले दिईसकेको छ । त्यस्तै मंगलवार कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रमबारे बृहत छलफल गरिएको र बिहानैदेखि सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जनाए ।
त्यस्तै सुनवल नगरपालिका र रामग्राम नगरपालिका सहित प्रतापपुर , सरावल र पाल्हीनन्दन गाउपालिकाले नीति तथा कार्यक्रमको अन्तिम तयारी पूरा भएको जनाएका छन् । सुस्ता गाउपालिकाले भने मंगलवार नै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।


त्यस्तै सुनवल नगरपालिकाको कार्यपालिकाको दुई दिन देखि बजेट सम्बन्धमा छलफल गरी अन्तिम रुप दिएको नगर प्रमुख भिमबहादुर थापाले बताउनुभयो । बिहान ११ बजे नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ – नगर प्रमुख थापाले भन्नुभयो ।

त्यस्तै रामग्राम नगरपालिकाले बार्षिक नीति तथा कार्यक्रमको अन्तिम तयारी गरेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । कार्यपालिकामा ब्यापक छलफल पछि नीति तथा कार्यक्रम बनाइएको र बिहान ११ बजे प्रस्तुतिकरण गर्ने कार्यक्रम तय भएको उहाँको भनाई छ ।
स्थानीय तहले यही असार १० भित्र स्थानीय सभामा बजेट पेस गरिसक्नुपर्ने व्यवस्था छ ।
त्यस्तै सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले नीति तथा कार्यक्रम सार्वजनिक गर्न अन्तिम तयारी पूरा भएकोले बिहानै ८ बजेदेखि कार्यक्रम तय भईसकेको बताउनुभयो । गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बजेट सम्बन्धमा कार्यपालिकामा छलफल गरी अन्तिम टुंगो लगाएको जानकारी दिनुभयो ।
प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम आलेका अनुसार नीति तथा कार्यक्रम आज उपाध्यक्ष अन्जु कुमारी चौधरीले गर्ने कार्यक्रम छ । प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माको निधन प्रति शोक तथा श्रद्धाञ्जली ब्यक्त गर्दै कार्यक्रम गर्ने कार्यसुची रहेको प्रतापपुर गाउपालिकाले जनाएको छ ।
त्यस्तै पाल्हीनन्दन गाउपालिकाले नीति तथा कार्यक्रमको अन्तिम तयारी पूरा भएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवका अनुसार नीति कार्यक्रम र बजेट एकै दिन प्रस्तुत गर्ने गरी तयारी गरिएको छ ।
त्यस्तै रुपन्देहीका स्थानीय तहले पनि नीति कार्यक्रमलाई अन्तिम रुप दिएको जनाएका छन् । तिलोत्तमाले नीति कार्यक्रम प्रस्तुत गरिसकेको जनाएको छ । देवदह नगरपालिकाले नीति कार्यक्रम तयारी गरेर प्रस्तुत गर्ने तयारीमा रहेको जनाएको छ । उता नवलपुरका स्थानीयतहले नीति कार्यक्रम असार १० गते प्रस्तुत गर्दैछन्।
सङ्घीय सरकारले भने स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा कोरोना भाइरस (कोभिड–१९)को संवेदनशीलतालाई प्राथमिकतामा राख्ने, रोजगारी सिर्जना गर्ने, ठूला विकासका योजना सञ्चालन नगर्ने गरी बजेट निर्माण गर्न यसअघि नै आग्रह गरेको थियो ।

You might also like