वन कार्यालयको दादागिरी: पाक्न लागेको बाली नष्ट

0

कावासोती, ३ जेठ । डिभिजन वन कार्यालय नवलपुरले पाक्न लागेको बाली नै नष्ट गरेर स्थानीय सुकुम्बासी समुदाय माथि क्रुरता प्रर्दशन गरेको छ । देवचुली नगरपालिका–६ मिर्दुङ्गकी याममाया अस्लामी मगरले लगाएको मकै र केरा वन क्षेत्रमा पर्ने भन्दै डिभिजन वन कार्यालय नवलपुरका डिएफओ पुर्णेश्वर सुवेदीको ठाडो निर्देशनमा सुरक्षाकर्मी प्रयोग गरेर नष्ट गरिएको हो ।

वन कार्यालयले वन क्षेत्र दावी गरेको सो स्थानमा २०४७ साल देखि नै स्थानीयले उपभोग गर्दै आएका थिए । खेति गरिएको स्थानबाट केही पर मात्रै याममायाको घर छ । २०६० सालमा मिर्दुङ्ग खोलामा आएको बाढीले बगाउदा याममायाले देउरानीको मृत्यु भएको थियो भने उनिहरुको घर बगाएको थियो । जसको कारण उनिहरु खेति लगाएको स्थानबाट बिस्तापित भई केही पर घर निर्माण गरेर बस्दै आएका छन् । बाढीले घर बारी बगाएपछि उनिहरुले सो जमिनमा केरा खेती गरेका थिए भने यस वर्ष मकै खेति लगाएका थिए । तर, वन कार्यालयले उनिहरुको लागाएको मकैसंगै घरी लागेका २५ भन्दा बढी केराको बोट नष्ट गरिदिएको छ ।

जेठ ३० गते देवचुली बुलिङ्गटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ज्योती कोइरालाको नेतृत्वमा सुरक्षाकर्मी सहितको टोलि मिर्दुङ्ग पुगेको थियो । सोही टोलिले बाली नष्ट गरेको हो । स्थानीय एकता सामुदायिक वन क्षेत्र नजिकै रहेको याममायाको बारीमा लगाइएको बालि नष्ट नगर्न स्थानीयले गरेको अनुरोधलाई अस्विकार गर्दै अडर इज अडर भन्दै मकै र केरा ढालिएको प्रत्यक्षदर्शी स्थानीयको भनाई छ । फडानी गर्दा स्थानीय वडाका जनप्रतिनिधिहरुलाई जानकारी समेत गराइएको थिएन । घटनाबारे आफुलाई पूर्व सुचना नभएको देवचुली नपा–६ का वडा अध्यक्ष मिन बहादुर सोतीले बताउनु भयो । उहाँका अनुसार मिर्दुङ्गमा मात्रै ३५ घर सुकुम्बासी बस्ती रहेको छ । वडाको किर्तिपुर, कुम्सोत लगाएको क्षेत्रमा समेत सुकुम्बासी बस्ती रहेको छ । वन कार्यालयले बाली नै नष्ट गरेपछि सो क्षेत्रका स्थानीय चिन्तित बनेको उहाँले बताउनु भयो ।

स्थानीय सामुदायिक वनका पदाधिकारीले समेत पाक्न लागेको फसल काट्न नहुने भन्दै सुरक्षाकर्मी सहितको टोलिलाई सुझाव दिएका थिए । जेठ ३० गते वन कार्यालयबाट टोलि आउदै गरेको र तयारी अवस्थामा बस्न भनेर एक्कै चोटी फोन आएको एकता सामुदायिक वनका अध्यक्ष हुमकान्त सुवेदीले बताउनु भयो । सुरक्षाकर्मी सहित आएको टोलिले सिधैं बालि लागाएको स्थानमा लगेर बाली फाड्न आएको जानकारी गराएपछि मात्रै आफुलाई बालि फडानी हुन लागेको भन्ने थाह भएको उहाँले बताउनु भयो ।

घटनाको विषयमा जानकारी लिन डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिएफओ पूर्णेश्वर सुवेदीलाई सम्पर्क गर्दा सुचना अधिकारीलाई सम्पर्क गर्न भन्दै प्रश्नको उत्तर दिन चहानु भएन । सुचना अधिकारी र वन कार्यालयमा सम्पर्क गर्दा फोन उठ्न सकेन । वन क्षेत्र अतिक्रमण भएकाले बाली नष्ट गरिएको बताउने डिभिजन वन कार्यालय नवलपुरले भने अतिक्रमण भएर बनेका होटलहरु र रिर्सोटहरुमा नै कार्यक्रम र गोष्ठिहरु सञ्चालन गर्दै आएको छ । व्यवसायिक प्रायोजनका लागि वन क्षेत्र अतिक्रमण गरेर भवनहरु निर्माण हुदा मुख दर्शक बन्ने वन कार्यालयले विपन्न परिवारको अन्नवाली नै नष्ट गर्नुले कार्यालय र कार्यालय प्रमुखको कार्यसम्पादनमा नै प्रश्न खडा हुने सरोकारवालाहरुको भनाई छ ।

अझ अहिले कोरोना भाईरस (कोभिड–१९) को कारण सृजना हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सरकारले जमिन बाँझो नराख्न आग्रह गरिरहेको अवस्थामा भएको यो घटना निकै खेदजनक रहेको सरोकारवालाहरुको भनाईछ । नेपाल सरकारले अन्तरराष्ट्रिय स्तरमा भोकमरी विरुद्धको गरेको एकेबद्धता, गण्डकी प्रदेशले शुरु गरेको समृद्धिको लागि वन र स्थानीय सरकार गरेकोले जमिन बाँझो नराख्ने र खाद्य बैंकको परिकल्पनालाई समेत डिभिजन वन कार्यालय नवलपुरको यस कदमले ध्वजी उडाएको छ ।daunnenwes

You might also like