मुख्यमन्त्री पोखरेलसंग पश्चिम नवलपरासीका पालिका प्रमुख : कसले के भने ?
रवि पाण्डेय
नवलपरासी ३ जेठ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग पश्चिम नवलपरासीका पालिका प्रमुख र सरोकारवालाबीच शनिवार सुनवलमा अन्तरक्रिया भएको छ । सो कार्यक्रममा सातैवटा पालिकाका प्रमुखले आफूले गरेका काम सहित आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सुस्तामा कोरोना नियन्त्रणका लागि भारतबाट आएकाहरुका लागि ६ वटा क्वारेन्टाइन बनाइएको र भारतबाट आउनेको चाप रहेको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा बस्नेहरुका बिलाशिताको मागले हैरान भएको बताउनुभयो ।
त्यस्तै पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक)ले भारतीय सीमामा पालिकाको ४ वटा वडाको ६ किलोमिटर सिमा पर्ने भएको हुदाँ भारतबाट आउनेहरुलाई ब्यवस्थित गर्न गाह्रो परेको बताउनुभयो । राहत तथा विकासमा भष्ट्रचार ग¥यो भनेर प्रचार गर्नेहरुका कारण काम गर्न असहज भएको उहाँले गुनासो गर्नुभयो ।
त्यस्तै सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले संघीय र प्रदेश सरकारसंग आफ्ना गुनासो राख्न पाउदाँ खुसी लागेको बताउदै जिल्लामा आइसोलेसनको ब्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले फ्रन्टलाइनमा खटने स्वास्थ्यकर्मीहरुको सेवा सुबिधामा अन्यौल रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माले विपदका बेला स्थानीय तहले गरेका काममा राजनीति गरिनु दुखःद रहेको बताउदै पालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बनाउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश पाँचको पुर्वी प्रवेशद्धार बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले राहत वितरणको विकल्पको रुपमा मुख्यमन्त्री रोजगारमा आधारित राहत कार्यक्रम ल्याउन मुख्यमन्त्रीलाई सुझाव दिनुभयो । उहाँले विपद ब्यवस्थापन कोष स्थापना गरेर नगरले कोरोना नियन्त्रणको लागि गरेको कामको चर्चा गर्दै कारोना संयुक्त लडाई रहेको विचार राख्नुभयो । उहाँले क्वारेन्टाइनलाई वडा वडामा विस्तार गर्न नगरले काम थालिसकेको बताउनुभयो ।
त्यस्तै रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले क्रस बोर्डर नै कोरोना ल्याउने माध्यम भएकोले बैद्यानिक तवरले नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताउनुभयो । उहाँले आफूहरु दिन र रात नभनी खटनुपरेको उल्लेख गर्दै रातमा चिन्तन र दिनका एक्सन गरेको दावी गर्नुभयो । उहाँले कोरोना बिरुद्धको महाअभियानमा राजनीति हुनु दुखद पक्ष भएको बताउनुभयो ।
कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीले सुनवल नगरको विपद ब्यवस्थापन कोषमा १ करोड ४७ लाख रहेकोमा ९२ लाख खर्च भएको बताउनुभयो । त्यस्तै सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले जिल्ला समन्वय बैठकमा उपप्रमुखहरुको समेत सहभागिता हुन सके काम अझ प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा प्रदेश सभा सदस्य बैजनाथ जैसवाल , दिपेन्द्रकुमार अधिकारी प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल , जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बोल्नुभएको थियो ।
छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरी र प्रदेश सभा सदस्य भगवती भण्डारीको सहभागिता रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षतामा भएको थियो ।