‘ असमान गण्डक सम्झौता पुनरावलोकन गरिनुपर्छ ‘

0

‘ असमान गण्डक सम्झौता पुनरावलोकन गरिनुपर्छ ‘
त्रिवेणी – असमान गण्डक सम्झौता सम्बन्धमा पश्चिम नवलपरासीमा अन्तरक्रिया गरिएको छ । गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले शनिवार बेलाटारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा पीडित गण्डकवासीले वर्षेनी डुबान कटानको पीडामा रहेकोले आफुहरु आर्थिक रुपमा पछाडि पर्दै गरेको गुनासो गरेका थिए । नारायणी नदी तथा विभिन्न खोलानालाको चपेटामा पर्ने गरेकाले र पीडाबाट उन्मुक्ति पाउनुपर्ने पहल गरिदिन माग गरेको संघर्ष समिति नवलपरासीका प्रवक्ता वृजराज कुशवाहाले बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रवक्ता कुशवाहाले भने विसं. २०१६ मंसीर १९ गतेका दिन नेपाल भारतबीच सम्पन्न भएको गण्डक सम्झौताका केही महत्वपुर्ण बूंदामा विभेद रहेकाले नेपाली जनता विगत ६० वर्षदेखि ठगिदै आएको बताउनुभयो ।
उहाँले भारतले पेश गरेको गण्डक सम्झौताको प्रस्ताव उपर विशेष अध्ययन नै नगरी नेपाल सरकारले हतारमा सम्झौता गरेको भन्दै यसले उत्पन्न गरेको समस्याबाट दीगो समाधान पाउनुपर्ने उठान गर्नुभएको थियो । कुशवाहाले गण्डकको नाम लिना साथ बाढी, डुबान, कटान, तथा अनेक प्रकारको समस्याको झल्को आउने गरेको अनुभव सुनाउनुभयो ।
त्यस्तै मर्मत सम्भारको नाममा झिनामसिना काम गरेर भारतले गण्डकमा दुनो सोझ्याउने काम गरेको छ । ठेकेदार र सम्बद्ध भारतीय कर्मचारीको मिलेमतोमा व्यक्ति मोटाउने काम मात्र भएको छ । यसका लागि आम जनताको बल आवश्यक पर्नसक्ने आवश्यकता महशुस गरेका छौं – प्रबक्ता कुशवाहाले भन्नुभयो । उहाँले यसका समाधानका लागि गण्डक सम्झौताको पुनरावलोकन हुनुपर्नेमा जोड दिनुभयो ।


सो कार्यक्रम समितिका अध्यक्ष दुधनाथ गुप्ताको सभापतित्व तथा ५ नं. प्रदेशका सभा सदस्य अजय बहादुर शाहीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा प्रतापपुर गाउंपालिकाका वडाध्यक्ष कादिर अली अन्सारी, सुस्ता गाउंपालिकाका वडा अध्यक्ष अशोक कुमार गुरुगं, स्थानीयवासीन्दा चिरन्जीवी ढुंगाना, द्धारिका प्रसाद घिमिरे, पदमा भुषाल, दलसिंगार यादवले समितिले हकका लागि आन्दोलनमा जानुपर्ने र यसका लागि जनता साथमा रहेको प्रतिबद्धता जनाउनुभएको थियो ।

You might also like