माफियाकरणको अन्त्यका लागि संघीय जनगणतन्त्र – परि थापा
नवलपरासी – नेकपा ( क्रान्तिकारी माओवादी ) का स्थायी समिति सदस्य तथा पूर्व सांसद परि थापाले दलाल ब्यवस्थाको अन्त्यको आवश्यक रहेको बताउनुभएको छ । सोमवार देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीले बर्दघाट २ चिसापानीस्थित चिसापानी सामुदायिक वन उपभोक्ता समुह प्रांगणमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले दलाल ब्यवस्थाको अन्त्य गरी संघीय जनगणतन्त्रको स्थापना गर्नु जरुरी भइसकेको बताउनुभयो । सो मोर्चाका केन्द्रीय सचिव समेत रहेका थापाले हरेक क्षेत्रमा विकृति विसंगति रहेको चर्चा गर्दै राष्टिय स्वाधीनताको लागि देशभक्तहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नेपालको कुल भुभागमध्ये १० हजार १९ वर्गकिलोमिटर भुमि मिंचिदाँ सरकारले मुख नखोलेको भन्दै नेता थापाले सत्तारुढ नेकपा नाम मात्रको कम्युनिष्ट भएको बताउनुभयो । केपी ओलीजीले नै हामी राजनैतिक कम्युनिष्ट हौ भन्नुभएको छ उहाँले भन्नुभयो त्यसैले डबल नेकपा कम्युनिष्ट होइन । त्यस्तै जनयुद्ध लडेका प्रचण्डले ओलीलाई अब्बल अध्यक्ष मानेर आफु दोयम दर्जाको अध्यक्ष भएको भन्दै उहाँले जनयुद्ध लडेका बाबुरामले कमण्डलु लिन मात्र बाकी रहेको आरोप लगाउनुभयो । त्यसैगरी नयाँ शक्तिको अभियानलाई ईंगित गर्दै उहाँले थप्नुभयो बाबुरामजी कम्युनिष्ट आन्दोलनमै हुनुहुन्न अब कमण्डलु लिएर ताण्डब नृत्य गर्न मात्र बाकी छ । सत्तारुढ दलले कम्युनिष्ट भएको भम्र जनतामा दिएको चर्चा गर्दै नेता थापाले कम्युनिष्टहरुले निजीकरणलाई अन्त्य गर्दै समाजवादमा जानुपर्नेमा ब्यापारीकरण र माफियाकारणमा जोड दिएकोले सत्तारुढ दल नामधारी कम्युनिष्ट हो भन्नुभयो । उहाँले प्रधानमन्त्री कार्यालय देखि वडा कार्यालय सम्म लेपुलेक लिम्पियाधुरा र कालापानी विनाको नक्कली नक्सा प्रयोग गरिएकोमा खेद प्रकट गर्नुभएको थियो ।
त्यस्तै कञ्चनपुरको गडडाचौकीबाट आएको थापा नेतृत्वको मेची महाकाली जागरण अभियानले पश्चिम नवलपरासीमा कार्यक्रम सम्पन्न गरी नवलपुरको दुम्किवास अरुणखोला चोरमारा डण्डा र कावासोतीमा कार्यक्रम सम्पन्न गरेको छ । पूर्वमा मोर्चाका अध्यक्ष सिपी गजुरेल पश्चिममा नेता थापा गण्डकीमा नेता केशबहादुर परियार र काठमाण्डौ सहित ४ स्थानमा उद्घाट भएको अभियानको चारै टोली मंगलवार चितवनमा पुगेपछि अभियान सम्पन्न गर्ने योजना रहेको छ । अभियान समापन पछि देजमोले जिल्ला सम्मेलन गर्दै चैत्र २४ गते राष्टिय सम्मेलन गर्ने र त्यसपछि ९४ बुदे माग सहित आमहडतालका कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ ।