भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरी नेपाल आउने भारतीय पर्यटकलाई ब्यवस्थित गर्नुपर्छ : सांसद अधिकारी
नवलपरासी : प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरी नेपाल आउने भारतीय पर्यटकलाई ब्यवस्थित गर्नुपर्ने खाँचो औल्याउनुभएको छ । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ अन्तरगत क का प्रदेशसभा सदस्य रहनुभएको अधिकारीले भारतीय नम्बर प्लेटमा आउने पर्यटकहरुलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । शनिवार उद्योग बाणिज्य संघ नवलपरासीको गोपीजंगमा भएको क्षेत्रीय भेला तथा करदाता शिक्षा कार्यक्रम उद्घाटनमा बोल्दै सांसद अधिकारीले भारतीय गाडीमा आउने पर्यटक नेपालमा धेरै नबस्ने भएकोले उनीहरुबाट पर्यटन क्षेत्रमा त्यति आर्थिक लाभ नहुने बताउनुभयो । भारतीय गाडी प्रयोग गरेर आउने पर्यटकलाई निरुत्साहन गर्नुपर्छ उहाले भन्नुभयो त्यसका लागि निति आवश्यक छ । त्यस्तै फरक प्रसंगमा सत्तारुढ नेकपाका नेता समेत रहेका अधिकारीले प्रदेश नम्बर पाँचको प्राथमिकतामा कृषि तथा पर्यटन रहेको चर्चा गर्दै प्रदेशका ६ वटा जिल्लामा राम्रो उत्पादन लिन सकिने बताउनुभयो । यहाँ लुम्बिनी रामग्राम रानीमहल र स्वर्गद्धारी छन् जहाँ पर्यटनको प्रचुर सम्भावना छ अधिकारीले भन्नुभयो कृषि तथा पर्यटनबाटै प्रदेशले फड्को मार्छ । कार्यक्रममा बिशिष्ट अतिथि प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माले करका बिषयमा सत्यता भन्दाँ भम्र धेरै रहेको उल्लेख गर्दै त्यो भम्र अहिले समाप्त भएकाले ढुक्क संग ब्यवसाय संंचालन गर्न सबैलाई आग्रह गर्नुभयो । केशव चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष केशव भण्डारी महासचिव गिरीराज पाण्डे नवलपरासी सुनचाँदी ब्यवसायी संघका अध्यक्ष राजेन्द्र सुनार, क्यान अध्यक्ष युवराज डुम्रे होटल ब्यवसायी संघका अध्यक्ष रमेश पाण्डे लगायतका अतिथि रहनुभएको थियो ।