नवलपरासीमा पत्रपत्रिका : दर्ता सुची लामै निरन्तरता न्युन

0

नवलपरासी : नवलपरासीमा पत्रपत्रिका दर्ताको सुची लामै छ । तर निरन्तरता भने न्युन पाइएको छ । साविक नवलपरासीमा दर्ता भएका ४१ पत्रपत्रिका रहेपनि निरन्तरता भने अति न्युन छ ।

एउटा लहडमा पत्रिका दर्ता गर्ने र नियमित संचालन नगर्ने पुरानै तरिका यहाँ प्रचलित छ । त्यस्तै दर्ता भएका पत्रिका मध्ये पश्चिम नवलपरासीमा हाल तीनवटा पत्रिका संचालित छन् । पूर्व नवलपरासीमा ६ वटाले निरन्तरता पाएका छन । ती मध्ये एक दैनिक र अरु सबै साप्ताहिक रुपमा प्रकाशन हुदै आएको छ । पश्चिम नवलपरासीमा भने दैनिक पत्रिका संचालनमा छैन । दर्ता भएका ४१ मध्ये जम्मा ९ वटा पत्रिका मात्र नवलपुर र परासीमा निरन्तर प्रकाशित छन । ती मध्ये पश्चिम नवलपरासीमा २ वटा स्थायी दर्ता र एक अस्थायी दर्तामा संचालन हुदै आएको छ । स्थानीय पत्र साप्ताहिक र परासी पत्र साप्ताहिक स्थायी दर्ता रहेको छ भने सुस्ता सन्देश साप्ताहिकले अस्थायी दर्ता गरेर प्रकाशन गरिरहेको छ । पश्चिम नवलपरासीका ३ वटा पत्रिका मध्ये ६ बर्षको निरन्तरता सहित परासी पत्र प्रेस काउन्सिलको बर्गीकरणमा समेत छ । त्यस्तै बिगत दुई बर्षदेखि बर्दघाटबाट स्थानीय पत्र साप्ताहिक निरन्तर प्रकाशित रहेको छ । बिज्ञापनको सानो बजार हुनुका साथै रुपन्देही र चितवनको बजारको चुपुवामा पर्दा यहाँको संचारमाध्यमलाई गाह्रो पर्ने गरेको अगुवाहरुको अनुभव छ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माको पत्रिका दर्ता गर्ने र केही अंक प्रकाशनपछि आर्थिक संकटले गर्दा बन्द हुने अवस्था रहेको अनुभव छ । पत्रिका शुरु गर्दा जुन ढंगले अग्रसर हुन्छन जुन ढंगले बिज्ञापन आउछ पछि त्यति बिज्ञापन आउदैन – अध्यक्ष शर्मा भन्नुहुन्छ – अनि केही अंक प्रकाशन गरेपछि आर्थिक कारणले नै पत्रिकाले निरन्तरता पाउदैन । पत्रिका बिज्ञापनकै भरमा संचालन हुने भएकोले पत्रिका शुरु गर्नुपुर्व तीनवर्षको लगानी हुनुपर्ने उहाँको तर्क थियो । त्यस्तै पुर्वी नवलपरासीमा हुलाकी पत्र दैनिक दाउन्ने, सामथ्र्य , नमुना पोष्ट र बिजय खबरलगायत साप्ताहिक पत्रिका प्रकाशन हुदै आएका छन् ।

You might also like