कार्यकर्ता हत्याको विरोधमा तरुण दलको चक्काजाम , हत्यामा संलग्नको आरोपमा ७ जना पक्राउ

0


देवदह : रुपन्देहीको देवदहमा गए राति आफ्ना कार्यकर्ता अनिश पुरीको हत्याको विरोधमा तरुण दलले देवदह क्षेत्रमा मुख्य राजमार्ग दिउँसो २ बजेदेखि चक्काजाम गरेको छ । रुपन्देहीको खैरेनी र घोडाहाका युवाबीचको झगडाको चपेटामा अनिशको मृत्यु भएको हो । देवदहमा सञ्चालित व्यापार मेलामा आइतबार दिउँसो पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो । विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा बोलाएर लाठी र ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ । लाठी र ढुङ्गा प्रहार गरी हत्या गरिएका युवा नेपाल तरुण दल देवदह नगर सदस्यसमेत हुन् । सो घटनापछि आकस्मिक रुपमा बसेको तरुण दल रुपन्देहीको बैठकले हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सोधपुछ र अनुसन्धानका लागि गएराति नै ५ जना र सोमबार बिहान थप २ जना गरी ७ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्ले जानकारी दिए । पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर रानालगायत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिए । टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पु¥याइएको थियो । लगत्तै उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए । उनी विगत १ बर्षदेखि मुटुको रोगी भएकाले औषधि सेवन गरिरहेका थिए । एक मात्र छोरा अनिषको मृत्युपछि उनका बुबा र आमा अचेत छन् । उनीहरु दुबै जनाको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ ।
मृतक पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । मृतक पुरी गरिब परिवारका सदस्य थिए । अनिशको ज्यान गएपछि परिवारजन र आफन्त आक्रोशित भएका छन् । आफन्तजनले हत्यामा संलग्नलाइ कारबाही नभएसम्म पुरीको शव नबुझ्ने समेत निर्णय गरेका छन् ।

You might also like