संरक्षण पर्खदैं बर्दघाट–२ को इनारचुली : स्थानीय सरकार बेखबर जस्तै !

ऐतिहासिक तथा पुरातत्विक पर्यटकीय क्षेत्रको अध्ययनकै क्रममा:बर्दघाट नगरपालिका

0

 

रवि पाण्डेय
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर–२ विहारीगाँउ नजिकै रहेको सेनकालीन विश्वास गरिएको ईनारचुली बारे स्थानीय सरकार बेखबरजस्तै छ।

बर्दघाट बजारबाट उत्तर चुरे क्षेत्रको चुचुरोमा रहेको विहारीगाउँको नजिकै रहेका ईनारचुलीमा पुराना ईट्टा , घैटोका टुक्रालगायतका सामाग्री छन् । ती सबै पुरातात्विक सामाग्री पाल्पाकालीन सेनबंशसंग जोडिएको स्थानीयको विश्वास छ ।
ईनारचुलीलाई पुरानापाकाहरुले पुराना राजाहरुको गढीका रुपमा लिने गरेको रिम सुनारीले बताउनुहुन्छ । यसलाई तत्कालिन पाल्पा साम्राज्यको मुकाम तानसेनको लाइफलाइनका साथै त्रिवेणीधाम सम्म आउने बाटोको रुपमा यस चुरेका गोरेटोहरुलाई लिने गरिएको छ । ऐतिहासिक धार्मिक क्षेत्र त्रिवेणीधाममा आउने र नुन बोकेर जाने पुराना बाटोहरु चुरेका डाडाँहरु नै रहेको स्थानीय बताउछन् ।  इनारचुली नजिकै जिर्ण अवस्थाको गुफा पनि छ । गुफामा तीनवटा तलाजस्तै खुटकिलो रहेको थियो । अहिले गुफा स्याहार संम्भारमा कमीका कारण साघुरिदैं गएको सुनारीले जानकारी दिनुभयो । गुफा पुरिन थालेको भन्दै स्थानीय चिन्तित समेत हुदै आएका छन् ।
बुढा पुस्ताले सो गुफाबाट पहिले पहिले त्यहाँबाट उत्तरतर्फ रहेको विनयीखोला सम्म पुग्ने बाटो रहेको स्थानीय बताउदै आएका थिए । चुरेमा इनार रहेकाले यसलाई स्थानीयले ईनारचुली भन्दै आएका छन् ।
यी पुराना संरचना संरक्षणको अभावमा लथालिंग अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ । इनारचुलीका पुराना सामाग्रीहरु लथालिंग छन् । गुफा पुरिदैं गएको छ – एक स्थानीयले स्थानीयपत्रलाई जानकारी दिए ।
पूर्व जनप्रतिनिधि समेत रहनुभएका प्रेम सोमैले संसारकोट र ईनारचुली तथा गुफालाई संगसंगै जोडेर लैजान सके उचित हुने विचार राख्दै आउनुभएको छ । अव यस बारे बि.स.१९९८ अघिका पाका पुस्ताहरुसंग पनि सोध्छु र अझै धेरै जानकारी दिन्छु – सोमैले यस अघि स्थानीयपत्रलाई जानकारी दिदै प्रतिक्रिया समेत दिनुभएको थियो ।
ईनारीचुली र गुफाको अनुसन्धान तथा उत्खनन आवश्यक रहेको स्थानीयवासी बताउछन् ।
बर्दघाट नगरपालिकाले भने ऐतिहासिक तथा पुरातत्विक पर्यटकीय क्षेत्रको अध्ययनकै क्रममा रहेको बताउदै आएको छ । बर्दघाट नगरपालिकामा ऐतिहासिक बुद्धमंगलताल, संसारकोट, कञ्चनकुटीलगायतका ऐतिहासिक तथा पर्यटकीयस्थल रहेका छन् ।

You might also like