स्थिर अवधिमा पनि रोकिएन निर्वाचन अबज्ञा अभियान
नवलपरासी – मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर (मौन) अवधिमा समेत निर्वाचन अबज्ञाका कार्यक्रम रोकिएको छैन । नेकपा (बहुमत) निकटको अखिल क्रान्तिकारीले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीलाई अवज्ञा गरौँ भन्दै “नो भोट” अभियान मौन अबधिकै क्रममा संचालन गरिरहेको छ ।
उक्त संगठनले “विनोद चौधरीलाई अवज्ञा किन ? ” भन्ने शिर्षकमा पर्चा वितरण गरिरहेको पाइएको हो । उक्त पर्चामा ९ वटा कारण देखाएर विनोद चौधरीलाई भोट नहाल्न अपिल गरिएको छ । यस अघि नेकपा (बहुमत)ले चौधरीलाई मात्र नभएर काँग्रेसका अर्का उम्मेदवार देवेन्द्रराज कण्डेललाई समेत अबज्ञा गर्न भन्दै कालो ब्यानर टासेको थियो । नेकपा (बहुमत) का पश्चिम नवलपरासी जिल्ला संयोजक कृष्ण गिरीले चौधरी अर्थमन्त्री बन्ने लक्ष्य सहित यस क्षेत्रमा उम्मेदवार हुन आएका र मुलुकको अर्थतन्त्रलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्ने भएकाले आफूहरुले उनीविरुद्धको अभियान सञ्चालन गरिरहेको बताउनुभयो । जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी) नेकपा( मशाल ) ले निर्वाचन बहिष्कार अभियान संचालन गर्दै आएका छन् । विप्लव नेकपाले संसदीय निर्वाचन खारेजीको माग गर्दै आएको छ ।