हेल्थ असिस्टेन्ट संघद्वारा दरबन्दी संरचना सुधारको माग
हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधारको माग गर्दै स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रायमा पुगेर संघले मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो । हेल्थ असिस्टेन्ट संघले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । साथै संघले आफूहरूका माग सम्बोधन नभए चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।
२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमुल्यन भएको संघको भनाइ छ । लोकसेवा आयोगमार्फत् सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन पनि संघले माग गरेको छ ।
मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान रुपमा बनाइएको बताए । यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको उनको भनाइ थियो ।
संघको ज्ञापनपत्रमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार स्थानीय तहमा रहने आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमुल्यन मात्र नभई योग्यताकै धज्जी उडाउँदै संवैधानिक निकाय लोकसेवा आयोगको प्रक्रियालाई समेत चुनौती हुनेगरी एकेडेमिक कोर्ष अध्ययन गरी माथिल्लो तहमा लोकसेवा आयोग मार्फत् सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूको मानमर्दन हुने केही निहित स्वार्थ बोकेका व्यक्तिहरूको खल्तीबाट आएको भन्नेमा कुनै शंका छैन । र उक्त निर्णयप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
ज्ञापनपत्र बुझ्दै स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण प्रतिक्रिया दिएका छन् । उनले यस विषयमा छलफल गर्ने र त्रुटि भएको ठाउँमा सच्याउने आश्वासन पनि दिए । ‘के रहेछ, हामी गम्भीर ढंगले बसेर छलफल गर्नेछौँ । त्यसलाई केलाउनेछौं । त्रुटि भएको रहेछ भने सच्याइनेछ । बुझाइमा तलमाथि भएको रहेछ भने बुझाबुझ गरौँला । ध्यानाकर्षण गराउनुभयो हामी छलफल गर्छौं,’ मन्त्री खापुङले भने । kantipurnews