मजदुर किसान तथा मिटरब्याजी र लघुबित्त पीडितको आन्दोलनमा ऐक्यबद्धता
नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले भारतीय केरा आयातले गर्दा स्वदेशी केरा उत्पादक किसान मर्कामा परेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । महासंघका जिल्ला संयोजक सुर्य प्रसाद सापकोटाले सोमवार एक प्रेस बिज्ञप्ति जारी गर्दै भारतबाट विना परिक्षण केरा आयात हुदाँ किसान मर्काका परेको जनाउनुभएको हो । सापकोटाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा मिटरब्याजी तथा लघुबित्त पीडितहरुको आन्दोलन प्रति ऐक्यबद्धता जनाइएको छ । देशको अर्थतन्त्र धराशायी बन्दै जादाँ यसको असरबाट किसान प्रताडित भएका छन् । ‘राज्यले कृषकलाई शुन्य ब्याजदरमा ऋण प्रदान नगर्दा कृषकहरु चर्काे ब्याजदरमा ऋण लिन बाध्य छन् । एकातिर राज्यले वास्तविक कृषकहरुलाई सहुलियतपुर्ण ऋण र अनुदानको ब्यवस्था नगर्दा उनीहरुको उत्पादनमा बृद्धि हुन सकेको छैन् । अर्काेतर्फ अनुदान दिने प्रक्रियामा समेत वास्तविक कृषकहरुले नभई बिचौलियाहरु हावी हुने गरेका छन् । बेलामा मल बीउ नपाउदाँ देशैभर धान उत्पादनमा यसको प्रभाव पर्ने देखिएको छ । कृषकले उत्पादन गरेका उत्पादित बस्तुहरुको उचित बजार ब्यवस्थापन राज्यले नगर्दा कृषकहरु नोक्सानीमा पर्ने गरेका छन् । यस्तो अवस्थामा समेत राज्य मुकदर्शक बन्दा त्यसको फाईदाँ मिटरब्याजी तथा लघुबित्तले लिन पुगेका छन् । बैंकहरुले ब्याजदरलाई दिन दुगुना रात चौगुणा बढाएका छन् । उखु कृषकहरुका बर्षाै पुरानो भुक्तानी मिल मालिकहरुले गरेका छैनन् । भारतीय उत्पादनले बजार ढाकिएको छ तर स्वदेशी उत्पादनले उचित मुल्य र बजार नपाउदाँ कृषकहरु मर्कामा परेका छन् । चाडपर्व नजिकिदै जादाँ हाम्रो बजारमा भारतीय केराको बिगबिगीले नेपाली केरा उत्पादक कृषकका केरा बिक्री हुन सकेको छैन । राज्यले कुनै पनि कृषि उपजको बैलेमा समर्थन मुल्य नतोक्दा राज्य र बिचौलियाको चेपुवामा कृषकहरु छन् ।’ – उल्लेख गरिएको छ । बिज्ञप्तिको अन्त्यमा किसानका माग सम्बोधन भए संर्घषमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।