‘देउवा ज्यू, तपाईले पढेको कलेज कहिले बन्ने ?’
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणको माग गर्दै शुक्रबार प्रदर्शन गरेको छ ।
उनीहरुले ‘सेभ त्रिचन्द्र’ अभियान अन्तर्गत त्रिचन्द्र क्याम्पस अगाडी सडकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उनीहरुले ‘प्रधानमनत्री शेरबहादुर देउवा ज्यू तपाईले पढेको कलेज कहिले बन्ने?’ भन्दै प्रश्न गरेका छन् । यसका साथै उनीहरुले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर, नो इफ बट’, ‘भ्यू टावर बन्ने, त्रिचन्द्र नबन्ने।’, ‘हामीलाई कक्षा कोठा देऊ,’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान चलाएको थियो ।
जसअन्तर्गत गत मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगिएको थियो ।
यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ ।
२०७२ को भूकम्पमा त्रिचन्द्रको घण्टाघर तर्फको भवनमा क्षति पुगेपछि अति जोखिमको संकेत स्वरुप रातो स्टिकर लगाइएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवन पुनर्निर्माण गर्ने भनिए पनि पुर्निर्माण नगर्दै प्राधिकरणको म्याद सकिएर त्यसको जिम्मा शिक्षा मन्त्रालयलाई दिइएको छ ।
शिक्षा मन्त्रालयले पनि हालसम्म पुनर्निर्माणमा चासो नदिएको भन्दै नेविसंघले दबावमुलक कार्यक्रम गर्दै आएको छ । अघिल्लो हप्ता नेविसंघले क्याम्पस अगाडिको सडकमै पढेर विरोध जनाएको थियो । onlinekhabar