कमसल निर्माण सामाग्री प्रयोग भएको भन्दै रिफ्रेस सेन्टर निर्माणमा रोक

0

नवलपरासी- बर्दघाट नगरपालिका–४ ईलाका प्रहरी कार्यालयदेखि पूर्वमा निर्माणाधीन रिफ्रेस सेन्टरको काम गुणस्तरहीन भएको भन्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वका गएको टोलीले आइतवार निर्माण कार्यमा रोक लगाएको छ ।
प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको उक्त रिफ्रेस सेन्टरमा कमसल ईट्टा प्रयोग र मापदण्ड विपरित निर्माण भएको स्थानीयको गुनासो पछि नगर प्रमुख श्रेष्ठ ,उप प्रमुख तथा अनुगमन समिति संयोजक रुद्र प्रकाश उपाध्याय सहितको टोलीले निरीक्षण गरेको थियो ।


अनुगमनको क्रममा प्रमुख श्रेष्ठ र उपप्रमुख उपाध्यायको टोलीले कामदारहरुलाई काम रोक्न आग्रह गर्नुभएको थियो । लगतै निर्माण पक्षसंग काम रोक्नका लागि उहाँहरुले ठेकेदारलाई फोन समेत गर्नुभएको थियो । उक्त अनुगमनको क्रममा वडाका जन प्रतिनिधि तथा स्थानीय युवाहरुको समेत सहभागिता रहेको थियो ।
अनुगमन पछि उपप्रमुख उपाध्यायले निर्माणमा पहिलो नम्बरको ईट्टाको सट्टा कमसल ईट्टा प्रयोग भएको पाइएको र ठेकेदारसंग छलफल गर्नुपर्ने भएकोले तत्काललाई निर्माण कार्य रोकेको बताउनुभयो ।
अनुगमनको क्रममा भवनको बाहिरी भित्री पर्खालमा कमसल इट्टा प्रयोग गरिएको र बिभिन्न पर्खालहरुमा टालेटुले गर्ने काम भएको पाइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै १६ करोडको उक्त रिफ्रेस सेन्टरको ईष्टिमेट अध्ययन पछि मात्र बाँकी प्रक्रिया अगाडी बढ्ने÷नबढ्ने उहाँले बताउनुभयो ।

You might also like