बर्दघाटमा बालिका माथि शारिरीक यातना दिनेलाई म्याद थप गरी अनुसन्धान
हदै सम्मको सजाय हुनुपर्ने माग
रवि पाण्डेय
नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट–४ की एक ६ बर्षीया बालिकालाई मरणासन्न हुने गरी यातना दिइएको छ । उक्त घटनाको अभियोगमा पक्राउ परेका अभियुक्तलाई मंगलवार जिल्ला अदालत नवलपरासी परासीले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ ।
बैशाख ११ गते रातिको समयमा बर्दघाट–४ देवीनगरका एक युवाले ती बालिकालाई दिउरी तताएर छाती तथा शरिरको पछाडिको भागमा तातो दिउरीले पोलेर यातना दिएका थिए ।
त्यसपछि बालिकालाई खोलामा लगेर पानीमा टाउको डुबाएर शारिरीक यातना दिएको अभियोगमा बर्दघाट ४ देवीनगरका अभिशेष गौचनलाई प्रहरीले पक्राउ गरेको थियो ।
घरको संरक्षणमा समेत बेवास्तामा परेकी ती बालिकालाई गौचनले यातना दिएको घटना स्थानीयले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेको टोलीले उद्धार गरेर उपचारका लागि पृथ्वी चन्द्र अस्पतालमा पठाएको थियो । घटना लगतै प्रहरीले अभियुक्तलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बालिकाको टाउको, छाती र पछाडिको भागमा घाउ तथा चोट रहेको प्रहरीले निरीक्षक घिमिरेले जानकारी दिनुभयो । मरणासन्न अवस्थाकी ती बालिकाको पृथ्वी चन्द्र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।
स्थानीयका अनुसार अभियुक्तले बालिकालाई तातो दिउरीले ज्यानमा पोलेपछि खोलामा लगेर पानीमा टाउको डुबाइदिएका थिए । अभियुक्त लागु औषध र्दुब्यसनमा डुबेको ब्यक्ति रहेको स्थानीय बताउछन् । बालिकालाई यातना दिने गौचन माथि हदै सम्मको सजाय हुनुपर्ने माग गर्दै स्थानीयले दबाब दिदै आएका छन् । बर्दघाट नगरलाई बालमैत्री नगर घोषणा गर्ने अभियानकै बर्ष नगरपालिकाकै आडैमा घटेको यस घटनाले बर्दघाट नगरवासीको शिर निहुराएको अधिकारकर्मीहरु बताउछन् ।