प्रगति सामुदायिक वन : नेतृत्व चयनमा सहमतिको सम्भावना क्षीण, यसरी हुनेछ निर्वाचन
देवदह । देवदह ९ घोडाहास्थित प्रगति सामुदायिक वन उपभोक्ता समुहको चौथो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको सम्भावना क्षीण हुँदै गएको छ । निर्वाचन मण्डलले सहमतिको प्रयास गर्न दिएको समय सकिन केही घण्टा मात्रै बाँकी रहदा समेत सहमति हुन नसकेपछि नेतृत्व चयनको प्रक्रिया निर्वाचनमार्फत अगाडि बढ्ने सम्भावना बढेको हो ।
निर्वाचन मण्डलले सहमतिका लागि भोलि (बिहीवार) ८ बजेसम्मको समय दिएको र सो अवधीभित्र सहमति नभए नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट हुने समूहका निवर्तमान अध्यक्ष चमाकान्त गौडेलले बताए । “वनको नेतृत्वका लागि धेरै आकांक्षी हुनु राम्रो हो, हेरौं सकेसम्म सर्वसहमतीबाट हुन सके ठिक हुन्थ्यो, त्यसो भएन भने लोकतान्त्रिक विधि छदैछ” सेतोमसीसंग कुरा गर्दै गौडेलले भने ।
यसरी हुनेछ निर्वाचन
देवदह नगरपालिकाको वडा नं.९ मा फैलिएको प्रगति सामुदायिक वनका उपभोक्ता समूह ५ समूहमा विभाजित छन् । नेतृत्व चयन प्रक्रियामा हरेक समुहबाट ३-३ जना गरि १५ जना चुनिने छन् । यदि पदाधिकारी सर्वसम्मतबाट चुनिन सकेनन् भने पुनः पदाधिकारीको लागि निर्वाचन हुनेछ । विधान अनुसार सहमति नभए पदाधिकारीको लागि पुनः सबै उपभोक्ताले प्रत्यक्ष मतदान गर्नुपर्ने छ ।
४७५ जना उपभोक्ता रहेको उक्त वनको नेतृत्वको लागि निवर्तमान अध्यक्ष चमाकान्त गौडेल, वरिष्ठ उपाध्यक्ष पुर्ण प्रसाद पौडेल, दुर्गा बहादुर राना र ईश्वरी घिमिरे अध्यक्षका आकांक्षी रहेका छन् ।
स्रोतका अनुसार प्रगति सामुदायिक वनमा पनि देवदहका अन्य सामाजिक संघसंस्थामै झै राजनीति रुपमा दुई प्यानल खडा भएर चुनावी मैदानमा जाने देखिएको छ ।setomasi