पूर्वमन्त्री श्रेष्ठविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

0

काठमाडौँ — सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दोस्रो संविधानसभा निर्वाचन गराउन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा २०६९ चैत १ मा गठित सरकारका शान्ति तथा पुनर्निर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुदमन्त्री रहेका श्रेष्ठविरुद्ध अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनी शान्तिमन्त्री हुँदै शान्ति तथा पुनर्निर्माण कोषको रकम अनियमितता गरेको आरोप लागेको थियो । तर, अनुसन्धान अभावमा उनीमाथिको कसुर छानबिनमै परेको थिएन । अख्तियारका अनुसार श्रेष्ठले भ्रष्टाचार गरेर जोडेको सम्पत्ति घरजग्गा खरिद, चलचित्र उद्योग, खनिज उद्योग, सेयर कारोबारलगायतमा लगानी गरेको देखिएको छ ।

अख्तियारले करिब ६ वर्ष लामो अनुसन्धान क्रममा श्रेष्ठसँग भएको ११ करोड ३५ लाख ४४ हजार २ सय ९४ रुपैयाँ बराबरको चल–अचल सम्पत्ति भेटिएकामा ६ करोड ९० लाख १६ हजार ६ सय २७ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको अख्तियारले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

मन्त्रीबाट बाहिरिएको दुई वर्षपछि २०७२ मंसिर १६ मा श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीको करिब ६ वर्षपछि उनीविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले स्रोत नखुलेको सम्पत्तिको मूल्यांकन गरी त्यसअनुसार बिगो कायम गरेर मुद्दा दायर गरिएको बताए । बिगो असुलका लागि बैंक, वित्तीय संस्थामा मौज्दात ६८ लाख ५० हजार ९ सय ५३ रुपैयाँ जफत गरी कायम गरिएको बाँकी बिगोबापतको ३ करोड ७६ लाख ७६ हजार ७ सय १३ रुपैयाँ अन्य अचल सम्पत्ति जफत गरी असुल गर्न मागदाबी गरिएको छ ।श्रेष्ठ चुनावी सरकारको मन्त्री हुनुअघि नेपाल सरकारको सचिवबाट अवकाश पाएका पूर्वप्रशासक हुन् ।

२०२६ चैतदेखि २०३५ कात्तिकसम्म गोरखाको आरुघाटस्थित भीमोदय माविका शिक्षक रहेका उनी २०३६ कात्तिक २६ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । २०६४ माघ ८ मा सचिवबाट अवकाश पाएका उनी करिब २८ वर्ष निजामती सेवामा रहे । अवकाशको करिब ६ वर्षपछि २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म करिब एक वर्ष मन्त्री बनेका थिए ।

निजामती सेवा प्रवेश गरेको ३ वर्षपछि २०३९ सालबाट जग्गाजमिन खरिद, सेयर किनबेच, नातेदार तथा आफन्तका नाममा उद्योग सञ्चालनलगायतमा उनको संलग्नता देखिएको छ । २०३९ फागुन ११ मा सामाखुसीमा १२ आना ३ पैसा जग्गा खरिद गरेका श्रेष्ठले २०७२ सम्म आइपुग्दा दुई दर्जनभन्दा बढी ठाउँमा करोडौं मूल्य बराबरको जग्गा किनेको देखिन्छ । उनले यो अवधिमा आर्जन गरेको सम्पत्तिभन्दा जग्गा खरिदमा गरेको लगानी अस्वाभाविक मात्रै होइन, सार्वजनिक पदको दुरुपयोग गरी घूस र लेनदेनबाट जोडेको अख्तियार स्रोत बताउँछ । अख्तियारले संकलन गरेको जग्गाको लगतअनुसार विभिन्न जिल्लाका दुई दर्जन बढी ठाउँमा श्रीमती सरस्वतीसहित पारिवारिक सदस्यका नाममा जग्गा, कम्पनी सञ्चालन, सेयर खरिद र अस्वाभाविक रूपमा बैंक मौज्दात रहेको देखिन्छ । अख्तियारको आरोपपत्रमा काठमाडौंमा रहेको एउटा घर जफतसहित लैनचौर क्षेत्रको ३ सय ६ वर्गमिटर, स्वयम्भूको करिब ६ आना, मनमैजुको करिब ७ सय वर्गमिटर, चितवनको कविलासको करिब १२ कट्ठा जग्गा जफत गर्नुपर्ने मागदाबी छ । बिगो असुलका लागि पत्नी सरस्वती श्रेष्ठका नाममा भएको काठमाडौं, कास्की, भक्तपुरको चाँगुनारायण, दहचोकका दुई ठाउँ र पुरानो नैकापमा रहेका जग्गाजमिन पनि जफत गर्नुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

आफूसहित परिवारका विभिन्न सदस्यका नाममा प्राइम बैंक, नबिल बैंक, कृषि विकास बैंक, प्रबुद्ध बचत तथा सहकारीलगायत बैंक तथा वित्तीय संस्थामा मौज्दात १ करोडभन्दा बढी रकम जफत गरी त्यसबाट अपुग हुने बिगो जग्गाजमिनबाट असुल गर्न भनिएको छ । ‘निज श्रेष्ठले आयोगमा पेस गरेको सम्पत्ति विवरणसँग मालपोत कार्यालयहरू काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, कास्की र चितवनलगायतबाट प्राप्त पत्र, विभिन्न बैंक/वित्तीय संस्थामार्फत भएका कारोबार, सेयर खरिद, विभिन्न कम्पनीमा गरेको लगानीको हिसाब मिल्दैन,’ अख्तियार स्रोतले भन्यो, ‘सार्वजनिक सेवा प्रवेश गरेयता प्राप्त पारिश्रमिकलगायतका सेवा सुविधा र वैध स्रोतबाहेकको सम्पत्ति तथा त्यसबाट बढे/बढाइएको चल–अचल सम्पत्ति जफत र खुलेको बिगो असुलको मागदाबी गरिएको छ ।’

आरोपपत्रअनुसार स्रोत नखुलेको आर्थिक कारोबारमध्ये २६ ठाउँमा जग्गाजमिन किनबेचको स्रोत खुल्दैन । त्यस्तै घर निर्माण, व्यवसायमा लगानी, बिमाको प्रिमियम, छोराछोरीका लागि गरेको खर्चलगायत ४० भन्दा बढी कारोबारका शीर्षकको वैध स्रोत पनि नखुलेको अख्तियारको अनुसन्धानमा उल्लेख छ । कतिसम्म भने श्रेष्ठ सार्वजनिक सेवामा रहँदा दमौलीमा मनकामना चलचित्र प्रालि, पञ्चबुद्ध खनिज उद्योग, सवारीसाधन खरिदलगायतमा गरेको लगानीको हिसाब पनि आयोगमा बुझाएको भन्दा फरक छ ।

कहाँ–कहाँ जग्गा खरिद ?
२०३९ सालबाट जग्गा कारोबार र किनबेचमा संलग्न पूर्वमन्त्री श्रेष्ठले २०४६ पछि भने जग्गा कारोबारीकै जसरी जमिन जोड्ने क्रमलाई तीव्रता दिएको देखिन्छ । २०४६ मा उनले कामनपा २९ मा पत्नी सरस्वती श्रेष्ठका नाममा १० आना ३ पैसा ५० हजार ४ सयमा किनेका थिए तर त्यसको वैध स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

उनले किनेका जग्गाको लिखतमा निकै कम मूल्य कायम गरिएको छ । त्यही मूल्यका आधारमा अख्तियारले बिगो निर्धारण गरेको छ तर उनले किनेको सबै जग्गाको मूल्य अहिले चलेको मूल्यअनुसार १५ देखि २० गुणा बढी हुन आउने अख्तियार स्रोतले बताएको छ । २०४७ फागुन १९ मा छोरा सरोज श्रेष्ठका नाममा काठमाडौंमा ७ आना २ पैसा जग्गा ९४ हजारमा खरिद गरेको देखाएका छन् । त्यसको पनि स्रोत नखुलेको अख्तियारले जनाएको छ । २०४८ कात्तिक २९ मा श्रेष्ठले छोरा सरोजका नाममा काठमाडौंमै १ आना १ पैसा जग्गा ११ हजार ८ सय रुपैयाँमा किने । २०५० सालमा श्रेष्ठले धापासीमा ४ आना १ पैसा जग्गा ८६ हजार ३ सय ३० रुपैयाँमा किनेको देखाएका छन् । त्यसको पनि स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ । २०५६ मा उनले धापासीमा छोरा रोशनका नाममा ४ आना जग्गा १ लाख १२ हजार ५ सयमा किनेको उल्लेख छ ।

२०६१ मंसिर २३ मा छोरा सरोजका नाममा स्वयम्भूमा ३ आना २ पैसा जग्गा ४ लाख ३७ हजार ५ सय लिखत मूल्य राखेर किनेको देखिन्छ । सरोजकै नाममा मंसिर २३ मा स्वयम्भूमै २ आना ३ पैसा ३ लाख ४४ हजारमा किनेका थिए । २०६५ फागुन १९ मा ४ आना जग्गा काठमाडौंको चपलीमा लिखत मूल्य ३ लाख कायम गरेर किने । त्यसको पनि स्रोत नखुलेको अख्तियारको अनुसन्धानबाट देखिन्छ ।

त्यही दिन श्रीमती सरस्वती र छोरी संगीताका नाममा श्रेष्ठले १ रोपनी १ आना जग्गा १२ लाख ७५ हजार रुपैयाँमा किने पनि स्रोत खुल्दैन । २०६५ फागुन २५ मा श्रीमती सरस्वतीका नाममा १ रोपनी २ आना ३ पैसा जग्गा १४ लाख ७ हजारमा किनेको देखाएका छन् तर त्यसको पनि स्रोत देखाउन उनले सकेनन् । श्रेष्ठले २०६५ चैत २७ मा श्रीमती सरस्वतीका नाममा काभ्रेको कालिञ्चोकमा २१ रोपनी २ आना ३ पैसा २ दाम किने । त्यसको पनि वैध स्रोत खुलेको छैन । त्यही दिन कालिञ्चोकमै थप १० रोपनी १ पैसा १ दाम जग्गा किने । त्यसको अर्को वर्ष सामाखुसीमा १३ लाख १५ हजार लिखत मूल्य राखेर १३ आना २ पैसा जग्गा श्रीमतीका नाममा जोडे । २०६६ मंसिर १८ मा चितवनमा विभिन्न श्रेष्ठसहित ४ जना व्यक्तिसँगको साझेदारीमा किनेको २ बिघा ३ कट्ठा १७ धुरको भागमा आउने एक चौथाइको स्रोत पनि नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

२०६८ असोज १२ मा श्रीमती सरस्वतीका नाममा बूढानीलकण्ठमा खरिद गरेको १२ आनाको ६६ लाख ८० हजार ७ सय २० मूल्य कायम गरेकामा आधाको स्रोत खुलेको छैन । २०६९ पुस २ मा श्रेष्ठले जग्गा खरिदलाई निरन्तरता दिँदै श्रीमती सरस्वतीका नाममा भक्तपुरको सिपाडोलमा १ रोपनी ८ आना जग्गा ३६ लाखमा किनेको देखाएका छन् तर त्यसको ६६ प्रतिशत स्रोत खुलेको छैन । त्यही वर्षको फागुन १३ मा श्रेष्ठले इचंगुनारायणमा श्रीमती सरस्वतीका नाममा लिखत मूल्य ४० लाख कायम गरेर किनेको जग्गा पनि स्रोत खुल्दैन ।

२०७० वैशाख १५ मा चितवनमा श्रीमती सरस्वती र जग्गा कारोबारमा साझेदार कमला सुवेदीका नाममा २ बिघा ३ कट्ठा १३ धुरको आधा हिस्सा कायम गरी किनेको स्रोत देखाइएको छैन । पूर्वमन्त्री श्रेष्ठको जग्गा खरिदको धन्दा त्यतिमा मात्रै रोकिएन, उनले मन्त्रीबाट बाहिरिएको अर्को वर्ष २०७१ भदौ २४ मा श्रीमती सरस्वतीका नाममा सीतापाइलामा करिब ५ आना जग्गा ६२ लाखमा किनेकोमा त्यसको ८२ प्रतिशत स्रोत खुलेको देखिँदैन । त्यसको २ महिनापछि श्रेष्ठले आफ्नै नाममा चितवनको हाजीपुरमा २ ठाउँमा २४ धुर जग्गा किनेको देखिन्छ तर त्यसको पनि स्रोत खुल्ने प्रमाण नभेटिएको अख्तियारले जनाएको छ । केही महिनाअघि अख्तियारले सुदूरपश्चिम प्रदेश सरकारका उपसचिव हेमराज विष्टविरुद्ध अस्वाभाविक सम्पत्ति आर्जनको कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो । विष्टले ८७ ठाउँमा जग्गा खरिद र २२ स्थानमा घर जोडेको भेटिएको थियो ।kantipur news

You might also like