पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छ: मन्त्री आले
अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज यहाँ उद्घाटन गर्दै उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रुपान्तरणका यी क्षेत्रको विकास तथा विस्तारमा सम्बन्धित सबै पक्षको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताए । उनले भने, “मुलुकको विकास र समृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी छ, यसका लागि सम्बन्धित सबै पक्षको सहयोग, समन्वय र सहकार्य आवश्यक छ ।”
मन्त्री आलेले सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिकस्थल खप्तड, बडिमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उग्रतारा, मालिकार्जुन, निङ्लासैनीलगायतका क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउनका लागि त्यस क्षेत्रमा विकास निर्माण सम्बन्धी कार्य भइरहेको उल्लेख गर्दै सुदूरपश्चिमस्थित पर्यटकीय सम्भावना बोकेका यी क्षेत्रको विकास गरेर यसलाई देश विदेशमा चिनाउने कार्यमा सरकारले सहयोग गर्ने बताए।
उनले कैलालीको खुटिया, बिपीनगर, गड्सेरा, दिपायल, सायल, बझाङ हुँदै उरै ताक्लाकोट भञ्ज्याङ जोड्ने दु्रतमार्गका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिएकाले चाँडै नै ती मार्ग निर्माण भएर यहाँको पर्यटकीय तथा धार्मिकस्थलमा सयौँ पर्यटक पुग्ने विश्वास व्यक्त गरे। मन्त्री आलेले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विगत दुई वर्षदेखि थला परेको पर्यटकीय क्षेत्रलाई उकास्नका लागि सरकार लागि परेको बताउँदै सुदूरपश्चिममा पर्यटक भित्र्याउनका लागि यहाँ रहेका विमानस्थलको स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए!khabardabali