सुखौराका कृषकलाई बीउ बोका, डाँलेघाँस र खोर सुधार

बर्दघाट २ को पहाडी चुरेक्षेत्र र वडा १६ लाई बाख्रा पकेट क्षेत्र बनाउने पालिकाको योजना

0

पुष्पा गिरी
बर्दघाट १३ असार –  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – २ को पहाडी चुरेक्षेत्रस्थित सुखौरा गाउँका कृषकले उन्नत बोका , डाँलेघाँसका बिरुवा पाएका छन् ।

बर्दघाट नगरपालिकाको सहयोगमा खोर सुधार कार्यक्रम पाएका उनीहरुलाई आइतवार नगर प्रमुख धीरज शर्मा बस्यालले बोयर बोका र डाँलेघाँसका बिरुवा प्रदान गर्नुभएको पशुपंन्छी विकास शाखा प्रमुख भरत लम्सालले जानकारी दिनुभयो। नगर प्रमुख बस्यालले बाख्रा पकेट क्षेत्र विकास कार्यक्रम अन्तरगत बर्दघाट – २ को पहाडी क्षेत्रका आमबाँस, सुखौरा , बाँसखोला , संसारकोट , पोखरीछाँप र तिल्केनी गाँउका कृषकहरुलाई लक्षित गरेर सुधारिएको खोर निर्माण गरिएको बताउनुभयो । बर्दघाट २ को पहाडी चुरेक्षेत्र र वडा १६ लाई बाख्रा पकेट क्षेत्र बनाउने पालिकाको योजना रहेको बस्यालको भनाई छ ।
कार्यक्रममा वडाध्यक्ष दया दर्लामीको आतिथ्यता रहेको थियो । समुहका अध्यक्ष अमर बहादुर श्रीसले नगरको योजनाबाट आफुहरु लाभान्वित भएको बताउनुभयो । पकेट कार्यक्रम विस्तारका लागि ६ वटा बोयर जातका बीउ बोका प्रदान गर्ने योजना रहेको छ ।
शाखा प्रमुख लम्सालका अनुसार चालु बर्षमा ४५ बटा सुधारिएको खोर निर्माण सम्पन्न हुने क्रममा छन् ।
नगरतर्फको १५ लाख रुपैया लागतमा सुधारिएको खोर, डिपिङ ट्याङक, भुई तथा बहुबर्षे डाँले घाँस विकास , नश्ल सुधार र प्रबिधि प्रदान गर्ने योजना रहेको शाखा प्रमुख लम्सालले बताउनुभयो । सो वापत १५ हजार रुपैया प्रति खोर कृषकलाई उपलब्ध गराइएको छ ।

You might also like