भक्तजनको पर्खाइमा सुनवलको खुटहटमा रहेको धार्मिक स्थल उत्तरायन

0

पुरन अधिकारी ,पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वाड नं २ खुटहट स्थित तुरिया खोलाको समिपमा प्राचीन धार्मिक स्थल उत्तरायन शिव मन्दिर अवस्थित छ। धार्मिकरुपले करिब ३०० वर्ष अघि राणा कालिन समय देखि नै पुजा -आजा हुँदै आएको उक्त स्थानमा पहिले प्राचीन स्वरुपको मन्दिर रहेता पनि वि.स.२०६७ सालमा सोही स्थानमा नयाँ आधुनिक मन्दिरको निर्माण समेत भएको छ।मन्दिरको पश्चिम र पूर्व दुबै तर्फ तुरिया खोला घुमाउरो पाराले बगिरहेको उक्त स्थानमा १३ कट्ठा जग्गामा विभिन्न धार्मिक संरचनाहरु (हवनकुष्ड घर,धर्मशाला,पुजारी र संरक्षक बस्ने घर) र बेल ,आँप जस्ता फलफूलका बोटहरु रहेका छन् भने मन्दिर क्षेत्र करिब १४ विघामा फैलिएको छ।जसमा लोपोन्मुख सिमल र सिसौका बोटहरु प्रशस्त्र मात्रामा देख्न सकिन्छ र त्यसक्षेत्रमा अवस्थित चराचुरुङ्गीको सुरिलो र कोकिल स्वरले जोकोहीलाई पनि मन्त्र मुग्ध पार्नेगर्दछ। अचम्मलाग्दो कुरा त के छ भने मन्दिरको पूर्वबाट बग्ने तुरिया खोला करिब १२ सय मिटर दक्षिणबाट उत्तरतर्फ बगिरहेको छ।

यसरी दक्षिण दिशाबाट उत्तरतर्फ बग्ने नदि या खोला समथर तराई क्षेत्रमा बिरलै हुनेहुदा ,खोला उत्तरतर्फ बगेकै कारण सोही स्थानमा रहेको मन्दिरको नामाङ्करण उत्तरायन हुनगएको मन्दिरका पुजारी र संरक्षक कोल्लु पासवानले जानकारी गराउनुभयो। रामग्राम र सुनवल नगरपालिकाको सिमा समेत रहेको उक्त क्षेत्रमा सुनवल तर्फ मिश्रित जात-जातिको बसोबास रहेता पनि पश्चिमतर्फ रामग्राममा भने तराई समुदायको बाहुल्यता बढिरहेको छ। दक्षिणबाट उत्तरतर्फ बग्ने खोलाकै कारण धार्मिकरूपमा उक्तस्थानले ठूलो महत्त्व राख्ने र सो खोलाको उध्दगमस्थान उत्तरको चुरेमा रहेको पवित्र धार्मिक स्थल लोकेश्वरर समेत रहेकोले उक्त तुरियाखोला र त्यसको जललाई पनि पवित्र मानिने हुदा त्यहाँ स्नान गर्न समेत भक्तजनहरु लालायित भएको पाइन्छ र पवित्रताकै कारण सोही स्थानमा शवको दाहासंस्कार समेत गर्ने गरिन्छ । कार्तिक पुर्णिामामा ठूलो मेला समेत लाग्ने उक्त स्थानमा कृष्णाअष्टमी र शिवरात्रीमा पनि छिमेकी जिल्लाहरु र भारतबाट समेत भक्तजनहरु दर्शनका लागि आउने गर्दछन।विशेषतः कार्तिक पूर्णिमामा सो स्थानमा नुहाई पुजा गरेमा मनोकांक्षा पुरा हुने विश्वास रहेको र सोही खोलाको किनारामा छठपर्वको बेलामा समेत भक्तजनहरुको लर्को देख्नसकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महादेव मगरले बताउनुभयो । कुनै पनि क्षेत्रको विकासका लागि बाटोको पहुँच अनिवार्य हुनेहुदा त्यहाँ सम्म पुग्न सुनवल क्षेत्रको सुनवल- परासीरोड बाट बाटो सहज र पक्की पाउन सकिन्छ तर छिमेकी नगर रामग्राम नगरपालिकाको डैनहवाबाट प्रवेश गर्न मन्दिरको दक्षिणतर्फ झोलुङ्गेपुल रहेता पनि ठुला सवारी साधन प्रवेशमा कठिन रहेको र हालै प्रदेश सरकारको सहयोगमा पक्कीपुल निर्माणका लागि शिलान्यास कार्य भैसकेको र यसक्षेत्रको विकासका लागि स्थानीयसरकारले पनि सक्दो सहयोग प्रदान गरि मलामीकुरुवा भवनको निर्माण भईसकेको , मन्दिर परिसर तारबार समेत भईरहेको र वातावरणमा कुनै प्रभाव नपरोस् भनि विधुतिय शवदहन गृह निर्माणका लागि डिपिआर निर्माण कार्य समेत भईसकेको र केन्द्र सरकारबाट पनि सहयोगको अपेक्षा गर्दै आगामी दिनहरुमा पनि यसैगरि तिनैवटा सरकारहरुको सहयोग र साथ रहे साच्चिनै प्राचिन र धार्मिक आस्थाको केन्द्र यस उत्तरायन मन्दिरको चर्चा -परिचर्चा अझ बढ्ने र भक्तजनहरुको समेत वृद्धिभई पर्यटनमा समेत टेवा पुग्ने वडा अध्यक्ष राजेन्द्र यादवको भनाई रहेको छ।

You might also like