संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी , गणपूरक सङ्ख्यामा संशोधन
काठमाडौँ, पुस १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपतिले जारी गर्नुभएको अध्यादेशको नाम ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ रहेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले दिनुभयो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) मा ‘सङ्घीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने’ व्यवस्था छ ।
अध्यादेशमा थपिएको नयाँ व्यवस्था अनुसार अब संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिमा हुन नसकेमा बहुमतका आधारमा हुने छ । प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने र अध्यक्षसहित चार सदस्य उपस्थित हुनुपर्ने प्रावधानलाई परिवर्तन गरिएको छ । अध्यादेश मङ्गलबार नै नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषि राजभण्डारीका अनुसार नयाँ थपिएको प्रावधानमा ‘‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्यको उपस्थिति भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिने छ ।’’
यसैगरी बैठकमा पेस भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने छ तर सर्वसम्मति कायम हुन नसकेकामा अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने उल्लेख गरिएको छ ।
पूर्वतयारी र समन्वय अभाव : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को मर्यादा र गरिमाप्रति आफू जिम्मेवार रहेको बताउनुभएको छ । मङ्गलबार बिहान बोलाइएको परिषद् बैठकमा अनुपस्थित भएको विषयमा सचिवालयमार्फत प्रस्टीकरण दिँदै उहाँले सभामुखका रूपमा आफूले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
बैठकको पूर्वतयारी, समन्वय तथा परामर्श अभावका कारण मात्र अनुपस्थित भएको जानकारी दिँदै प्रेसविज्ञ श्रीधर न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, जहाँसम्म आजको संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुख ज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री ज्यूलाई जानकारी गराउनुभएको थियो । राज्य सञ्चालनमा दीर्घकालीन एवं दुरगामी महìव राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।
विज्ञप्तिमा संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई स्मरण गर्नु उपयुक्त हुने उल्लेख गरिएको छ ।
गोरखा पत्र