नयाँ युगको पर्खाईमा मनमायाहरु

रवि विकल्प

0

मनमायाहरु
संगीनको पीडा बोकेर
प्राणप्रीयका रक्तभेलहरु टेक्दैं
नवजातको भबिष्य कोर्न

राख भएको झुपडी र गोठ हेर्दै
आँशु छन्जेल
रोइरहे मनमायाहरु

कल्पनाका बसन्त फाडेर
शिशिर भोग्न बाध्य बनाइयो
हजारौ दमनचक्रबाट थिला पर्दै
बच्दैं र बचाउदैं
अनवरत यात्रामा
हिडिरहे मनमायाहरु

निथु्रक जिउडाल
पोरा परेका मुहार
मानौं, पानी विनाका बादल हो
कपास फोडेर निल गगनको खोजीमा
हृदयलाई साथ दिदैं
फुटेर चिरा परेका पाइतालाहरु लिएर
हिडिरहे मनमायाहरु

स्वेत आंतकका बिरुद्ध
खैरा जल्लादहरुबाट आस्था जोगाउदै
निष्ठालाई उचों पार्दै
मनमायाहरु वर्गय्ुद्धमा होमिए

सुन्दर संसारका निम्ति
मनमायाहरुले
आफ्ना मुटुका टुक्रा छियाछिया पारे
भान्साका काम लत्याए
बारुदी मुस्लो र गोली निल्ने आँट गरे
मानव मुक्तिका खातिर
हजारौं मनमायाहरु बलिदान भए

जब लड्ने पालो मनबहादुरहरुको आयो
भिड्ने पालो छविलालहरुको आयो
हुतिहाराहरु
अनेकौं साँठगाँठमा तल्लिन भए
मनमायाहरुको सपना तुहाइए
मनमायाहरु आफ्ना झुपडीको खोजीमा फर्काइए

अब मनमायाहरुलाई थाहा छ
उनीहरुसंग हार्ने कुनै गुञ्जाइस छैन
नयाँ क्रान्तिको तयारीमा
जुट्ने बाहेक अर्काे बाटो छैन
यतिबेला आफ्ना लागि आफै लड्न
लागिरहेछन् मनमायाहरु
नयाँ युगको पर्खाईमा …..

You might also like