जनयुद्धका शहिद सलिमको स्मृति कार्यक्रम सम्पन्न

0

नवलपरासी ; क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले नेपालमा जनबिद्रोह हुने चेतावनी दिएका छ्न् । नवलपरासीको बर्दघाट -१४ चौपत्तास्थित सहिद स्मृति  सामुदायिक अस्पतालको प्राङ्गणमा शुक्रबार आयोजित एक कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले यस्तो चेतावनी दिएका हुन । जनयुद्धका सहिद सुर्य बिक्रम थापा सलिमको स्मृती कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले शिक्षा, स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा समेत निजीकरणलाई छुट दिएर राज्यले नागरिक माथि भार थोपरेको बताउनुभयो । उहाँले यस्तो दलाल ब्यवस्थाको स्थापनाको लागि जनयुद्ध नभएको चर्चा गर्दै आफुहरुले जनतालाई धोका नदिने बताउनुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले भ्रष्टाचारको विरुद्धमा पार्टीले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताउदै देशमा संस्थागत भ्रष्टाचार र कमिशनखोरी बढेको बेला शान्तिपुर्ण आन्दोलनलाई अबहेलना गरिएको बताउनुभयो । उहाँले शान्तिपूर्ण कार्यक्रमले दलाल सत्ता र ब्यवस्थाले टेरपुच्छर नलाए सधै शान्तिपूर्ण कार्यक्रम मात्र नहुने चेतावनी दिउभयो । “हामीले निरन्तर रुपमा संस्थागत भ्रष्टाचारको विरुद्ध आवाज उठाएका छौ, तर दलाल सत्ता र ब्यवस्थाका अवयवहरुले लुटखसोट जारी राखेका छन् ” उहाँले भन्नुभयो ” सधै जनताले शान्तिपुर्ण आन्दोलन चाहन्छन,तर अति भएपछि जनताले शान्तिपुर्ण मात्र भनिरहदैनन् । लुटेरा ब्यवस्थाको विरुद्ध जनता जाइलाग्छन, बिद्रोह गर्छन ” । कार्यक्रम पार्टीको सचिवालय सदस्य दुर्गा नारायण चौधरीको संचालन र रामचन्द्र पोख्रेलको स्वागतमा भएको थियो । सो अवसरमा अस्पतालका अध्यक्ष डिबि थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

You might also like