जेष्ठ नागरिकलाई म्याद गुज्रेको सुगरको औषधि बितरण गर्दै स्वास्थ्य चौकी !
नवलपरासी – सुस्ता गाउँपालिका –१ स्थित रुपौलिया स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि वितरण गरेको पाइएको छ ।
जेष्ठ नागरिकलाई निः शुल्क उपलब्ध गराउनुपर्ने औषधिमा म्याद गुज्रिएको औषधि वितरण गरी नागरिकको स्वास्थ्य माथि गम्भिर खेलवाड गरिएको हो ।
स्वास्थ्य चौकीले सुगर रोगीले सेवन गर्ने ‘मेटस्पाएर–१००० एस आर’ नामको म्याद गुज्रिएको पाइएको छ ।
स्थानीय जेष्ठ नागरिकहरु म्याद गुज्रेको औषधि सेवन गर्दै आएको भेटिएका छन् ।
सुस्ता गाउँपालिका वडा नम्बर १ फेचुहा बस्ने ७२ वर्षिय बल्लबी भुर्तेललाई गत माघ ५ गते २ महिना अघि नै म्याद गुज्रिएको औषधि दिइएको थियो ।
सन् २०२१ को डिसेम्बर महिनामा उत्पादन भएको औषधिको म्याद २०२३ नोभेम्बर महिना सम्म मात्रै रहेको छ । तर, सन् २०२४ को जनवरी १९ मा समेत उक्त औषधि वितरण गरेको पाइएको हो ।
बल्लवी भुर्तेलका छोरा ज्ञान प्रसाद भुर्तेलले नागरिकको स्वास्थ्य माथि गम्भिर लापरवाही गर्ने स्वास्थ्य चौकीका कर्मचारीलाई कारवाही गरिनुपर्ने माग गरेका छन् ।
स्वास्थ्य चौकी प्रमुख धमेन्द्र कानुले आफ्नो कर्मचारीबाट गम्भिर गल्ती भएको स्वीकार्दै आगामी दिनमा त्यसो हुन नदिने जिकिर गरे ।
सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले स्वास्थ्य चौकीको कर्मचारीहरुले त्यसरी लापरवाही गरेको पाइए कारवाहीको दायरामा ल्याइने दावी गरेका छन् ।