बर्दघाट क्षेत्रमा कार्यरत पत्रकार असुरक्षित भएको भन्दै नगर प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र
नवलपरासी – बर्दघाट प्रेस क्लबले बर्दघाट क्षेत्रमा कार्यरत पत्रकार असुरक्षित भएको भन्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । समाचार लेखनकै विषयलाई लिएर सरकारी वेतनधारीहरुले आफ्नो पदीय मर्यादा समेत ख्याल नगरी पत्रकारहरुलाई धम्क्याउने तथा संचार समाग्रीहरु तोडफोड गर्ने प्रयास गर्ने गरेको भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
आज (बुधबार) बर्दघाट प्रेस क्लब पदाधिकारीहरु, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, नगर प्रवक्ता सन्त बहादुर गाहा, सामाजिक विकास समितिका संयोजक तथा बर्दघाट १६ का वडाध्यक्ष भिमकाजी गुरुङको उपस्थितिमा क्लबका अध्यक्ष कुश्माकर ढकालले नगर प्रमुख श्रेष्ठ समक्ष ज्ञापन पत्र पेश गर्नुभएको हो ।
बर्दघाट नगरभित्रका विभिन्न विषयबस्तुहरुलाई सञ्चार माध्यममा प्रकाशन/प्रशारण गरेकोमा विभिन्न पक्षहरुले समाचार तथा रिर्पोटसँग सम्बन्धित रहेर संचारकर्मीहरुलाई चेतावनी पुर्ण भाषा तथा अभिव्यक्ति आएको भन्दै क्लबले नगरलाई ध्यानाकर्षण गराएको छ ।
क्लबद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ‘समाचार लेखनको विषयमा चित्त नबुझे समाचारको खण्डन गर्ने, पे्रस काउन्सिल नेपालमा उजुरी दिन सकिने कानुनी प्रावधान रहेको स्मरण गराउन चाहन्छौँ ।’
त्यस्तै नेपालको संविधान २०७२ को धारा १७ को २ (क) मा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा १९ मा संचारको हक, धारा १९ मा सूचनाको हक अन्तरगत रहेर आफूहरुको ध्यानाकर्षण भएको क्लबको ज्ञापन पत्रमा उल्लेख रहेको छ । ज्ञापनपत्रमा पत्रकारहरुले अन्य पेशागत मागहरु समेत समेटेका छन् ।