मानवीय अतिक्रमणमा सिमसार
सिमसार बारे मानिसहरुमा अनेक धारणा छन् । तर सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको स्थानलाई बुझिन्छ । जुन ठाँउ ओसिलो र धापिलोका साथै बर्षभरी नै पानी रहने भुभाग सिमसार हुन् । सामान्यतया दलदल या हिलो सधैँ कायम हुने यसको बिशेषता हो । सिमसार वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति घर समेत मानिन्छ । यो जलाधारको क्षेत्र पनि हो । जहाँ सहज पाइने मात्र होईन दुर्लभ चराचुरुङ्गी र किटपतङ्ग समेत पाइन्छन् । हाम्रो देश जलस्रोतको दोस्रो धनी देशभएका कारण यहाँ यस्ता हजारौ सिमसारहरु छन् । पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा पनि बुटाहा ताल र पाल्हीनन्दनमा नन्दन तालजस्ता तालहरु थिए । अहिले बुटाहा ताल धानखेतमा परिणत भएर लोप भइसकेको छ भने नन्दन ताल लोप हुने अवस्थामा छ । मानबीय अतिक्रमणले यस्ता महत्वपुर्ण भु क्षेत्र अहिले नाश हुदै गएको देखिन्छ ।
यद्धपि पछिल्लो पटक सिमसार संरक्षणमा बिभिन्न पालिकाहरु लागे पनि सिमसारको मौलिक पक्षका बारे भने त्यति चाँसो दिएको पाईदैन । अझै पनि जिल्लाका बिभिन्न पालिकाहरुमा यस्ता प्राकृतिक सिमसारहरु छन् । तर, सिमसारमा मानव निर्मित क्रियाकलापले यसको मौलिक पक्षलाई बिकृत बनाउदै लगेको छ ।
राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । त्यसैले मानव क्रियाकलापको चपेटाबाट सिमसारलाई बेग्लै राख्दै यसको प्राकृतिक मौलिक पक्षको संरक्षणमा लाग्न सक्यो भने मात्र सिमसार दिवस मनाएको सार्थक हुन्छ । आज फेवु्रअरी–२ अर्थात सिमसार दिवसको यही शुभेच्छा । बर्दघाट पोष्ट दैनिकको सम्पादकीय विचार