स्थानीय पाठ्यपुस्तकमा बिद्यार्थीहरुको आर्कषण

बर्दघाट नगरपालिकाद्वारा स्थानीय पाठ्यपुस्तक लागू

0

रवि पाण्डेय
नवलपरासी पश्चिम – बर्दघाट नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । सामुदायिक तथा नीजि बिद्यार्थीहरुलाई निशुल्क रुपमा वितरण गरिएको स्थानीय पाठ्यपुस्तकलाई बिद्यार्थीहरुले निकै चाँसो पूर्वक लिएका छन् ।
शान्ति निकुन्ज रेवती गौमाता गौतम माविका प्रधानाध्यापक बिजय पराजुलीले स्थानीय पाठ्यपुस्तकलाई बिद्यार्थीहरुले रुचिका साथ लिएको बताउनुभयो । उहाँले बिद्यार्थीहरुले आफ्नो पालिकाभित्रका बिभिन्न बिषय बारे जानकारी लिदै सो स्थानमा गएर अवलोकन गर्न समेत चाहेको जानकारी दिनुभयो । शुरुवातमा सबै भइहाल्ने कुरा पनि भएन् । शुरुवात ठिकै छ । पाठ्यक्रम अनुसार पाठ्यपुस्तक निर्माण गरिनु राम्रो पक्ष हो – उहाँले भन्नुभयो –यसलाई बिद्यार्थीले राम्रो रुपमा लिएका पनि छन् ।
स्थानीय पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गर्दै पाठ्यपुस्तक लेखनको काम समेत स्थानीय बिज्ञलाई दिदाँ उचित हुने उहाँको सुझाव थियो ।


त्यस्तै नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्दै पाठ्यपुस्तक प्रकाशन समेत गर्ने बर्दघाट नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको हो । अरु स्थानीय तहले पाठ्यक्रम बनाए पनि कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक निर्माण गरिसकेका छैनन् ।
आफ्नै गाउँ ठाँउको बिषय पुस्तकमा छापिएर आउदाँ आफ्ना बालबालिकाले समेत निकै रुचिपूर्वक पढ्ने गरेको बर्दघाट–४ की अभिभावक डिलकुमारी न्यौपानेले जानकारी गराउनुभयो । लोकल बिषयमा आफ्नै गाउँ ठाँउका कुरा रैछन् –उहाँले भन्नुभयो– घर आइसकेपछि अरु बिषय भन्दा त्यही बिषय धेरै पढेको देख्छु ।
‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको आधारमा ‘हाम्रो बर्दघाट’ पाठ्यपुस्तक कक्षा एक देखि आठ सम्म कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडिबुटीलगायत बर्दघाटको समग्र क्षेत्र समेटिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी गराउनुभयो ।
स्थानीय पाठ्यपुस्तक ८ सम्मै लागू गरेर निशुल्क पुस्तक वितरण गरेको सायद हामी नै पहिलो होला – उपसचिव पन्थीले दावी गर्नुभयो – नीजि बिद्यालयहरुमा समेत स्थानीय पाठ्यपुस्तक प्रदान गरेका छौ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्न सक्ने व्यवस्था गरेकोले पाठ्यपुस्तक प्रकाशन गरेर बिद्यार्थीहरुलाई निशुल्क वितरण गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । नगरको पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यपुस्तक लागू गरिएको नगर प्रमुख श्रेष्ठको भनाई छ । हामीले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।– नगरप्रमुख श्रेष्ठले भन्नुभयो – यसैको उदाहरणका रुपमा यसलाई लिनुपर्छ ।
कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ सुरु गरिएको हो ।
उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बिद्यालयले स्थानीय पाठ्यपुस्तक अध्ययन गराउने ÷नगराउने सम्बन्धमा समेत निरन्तर अनुगमन गर्ने जानकारी गराउनुभयो । हामी शैक्षिक गुणस्तर विकासमा निकै संबेदनशिल छौ – उपप्रमुख उपाध्यायले स्थानीय पत्रसंग भन्नुभयो – त्यसैले यसको पनि निरन्तर अनुगमन गर्छाै । जसले पक्कै पनि शैक्षिक क्षेत्रको विकासमा मद्धत गर्नेछ ।
पाठ्यपुस्तकको लेखक तथा सम्पादकहरु डा.घनश्याम न्यौपाने परिश्रमी,डा.शालिकराम पौड्याल, डा.प्रेम प्रसाद तिवारी र शेषकान्त पौडेल रहनुभएको छ । डा.परिश्रमी बर्दघाट प्रज्ञा प्रतिष्ठानमा कुलपति समेत हुनुहुन्छ । उहाँ नेपाली गजल बिधाका शिखर ब्यक्तित्व समेत रहनुभएको छ । स्थानीय पाठयपुस्तक हाम्रो बर्दघाटको आवरणमा स्थानीय बुद्धमंगलताल, संसारकोटलगायतका आर्कषक तस्विरहरु समेत प्रकाशन गरिएको छ ।

स्थानीय पत्र साप्ताहिकले यो समाचार उच्च प्राथमिकताका साथ छापेको छ ।

You might also like