बर्दघाट नगरपालिका भित्रका आधारभुत तहको बिद्यालयमा स्थानीय पाठ्यपुस्तक लागु !

सामुदायिक बिद्यालय अनुगमनमा तीब्रता

0

रवि पाण्डेय
बर्दघाट – बर्दघाट नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्दै बिद्यार्थीहरुलाई निशुल्क स्थानीय पाठ्यपुस्तक वितरण गरेको छ ।

नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्दै पाठ्यपुस्तक प्रकाशन समेत गर्ने बर्दघाट नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको हो ।

‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको आधारमा ‘हाम्रो बर्दघाट’ पाठ्यपुस्तक कक्षा एक देखि आठ सम्म कार्यान्वयन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी दिनुभयो । ‘स्थानीय पाठ्यपुस्तक ८ सम्मै लागू गरेर निशुल्क पुस्तक वितरण गरेको सायद हामी नै पहिलो होला’ – सामुदायिक बिद्यालय अनुगमनका क्रममा बर्दघाट–१२ धनेवास्थित जयन्ती आधारभुत बिद्यालयमा परिसरमा जनप्रतिनिधिहरु सहितको टोलीमा भेटिएका उपसचिव पन्थीले दावी गर्नुभयो – ‘नीजि बिद्यालयहरुमा समेत स्थानीय पाठ्यपुस्तक प्रदान गरेका छौ ।’

पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडिबुटीलगायत बर्दघाटको समग्र क्षेत्र समेटिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्न सक्ने व्यवस्था गरेकोले पाठ्यपुस्तक प्रकाशन गरेर बिद्यार्थीहरुलाई निशुल्क वितरण गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । नगरको पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यपुस्तक लागू गरिएको नगर प्रमुख श्रेष्ठको भनाई छ । ‘हामीले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।’– नगरप्रमुख श्रेष्ठले भन्नुभयो –’ यसैको उदाहरणका रुपमा यसलाई लिनुपर्छ ।’ कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ सुरु गरिएको हो ।
साथै,उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बिद्यालयले स्थानीय पाठ्यपुस्तक अध्ययन गराउने /नगराउने सम्बन्धमा समेत निरन्तर अनुगमन गर्ने जानकारी गराउनुभयो ।’हामी शैक्षिक गुणस्तर विकासमा निकै संबेदनशिल छौ ‘– उपप्रमुख उपाध्यायले भने–’ त्यसैले यसको पनि निरन्तर अनुगमन गर्छाै । जसले पक्कै पनि शैक्षिक क्षेत्रको विकासमा मद्धत गर्नेछ ।’
बिद्यालयको अनुगमनको साथै शैक्षिक भौतिक विकासमा समेत आफूहरु लागि परेको उपप्रमुख उपाध्यायको भनाई छ ।

पाठ्यपुस्तकको लेखक तथा सम्पादकहरु डा.घनश्याम न्यौपाने परिश्रमी,डा.शालिकराम पौड्याल, डा. प्रेम प्रसाद तिवारी र शेषकान्त पौडेल रहनुभएको छ । स्थानीय पाठयपुस्तक हाम्रो बर्दघाटको आवरणमा स्थानीय बुद्धमंगलताल, संसारकोटलगायतका पर्यटकीय स्थलका तस्विरहरु समेत प्रकाशन गरिएको छ ।

सामुदायिक बिद्यालय अनुगमनमा तीब्रता
विहीवारको अवलोकन तथा निरीक्षणका क्रममा प्रतिक्रिया दिदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले सामुदायिक विद्यालयहरुको भौतिक अवस्थासंगै खानेपानी र छात्राहरुका लागि सेनेटरी प्याडको वितरणको अवस्थाका वारेमा टोलीले जानकारी लिएको बताउनुभयो । सो क्रममा नगरका ४ वटा विद्यालयहरुको भौतिक अवस्था र शैक्षिक अवस्थाका बारेमा नगरले अनुगमन टोलीले जानकारी लिएको उप प्रमुख रुद्र प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।


बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव लोकराज पन्थीले अनुगमन गरिएका विद्यालयहरुमा केही योजनाका कामहरु राम्रा रहेको बताउदै अझै विद्यालयहरु सुध्रिन जरुरी रहेको बताउनुभयो ।

You might also like