‘राजस्व संकलनलाई तीब्रता दिदै दायरा बृद्धि गर्ने बर्दघाट नगरपालिकाको नीति’
बर्दघाट – बर्दघाट नगरपालिकाले राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति लिएको जनाएको छ । मंगलवार स्थानीय राजस्व परामर्श समितिको बैठकले करको दर बृद्धि नगर्ने तर दायरा भने बृद्धि गर्दै जाने नीति बनाएको जनाएको छ ।
सो अवसरमा समितिका संरक्षक तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठले धारणा राख्दै करमैत्री नगर बनाउदै लैजाने बिषयमा धारणा राख्नुभयो ।
बैठकमा समितिका संयोजक रहनुभएका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले राजस्व संकलन नगरी खर्च गर्न नहुने जोड दिदै खर्च गर्दा दुरुपयोग नहुने गरी खर्च गर्नुपर्ने बताउनुभएको थियो । ‘राजस्व संकलनलाई करका दायरा बृद्धि गर्नुपर्छ’ –उहाँले भन्नुभयो– ‘करका दरलाई भने हामीले चलाउनु हुदैन । कर बाट संकलित रकमलाई हामीले पारदर्शी रुपमा विकासका लागि खर्च गर्नुपर्छ ।’
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बिभिन्न पालिकाहरुले कर संकलन गर्न गरेको प्रयोग बारे उल्लेख गर्दै कर संकलनमा तदारुकता आवश्यक रहेको बताउनुभयो ।
एक सहभागीका अनुसार सो अवसरमा घरबहाल कर तथा नयाँ नक्सा पास गर्न बारे समेत छलफल भएको थियो ।११ औं नगरसभा तथा हिउदे सभा संचालन भएको सन्र्दभमा समितिको बैठक बसेको हो । बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रक्षेपण गर्ने बारे समेत छलफल भएको थियो । आगामी आर्थिक बर्षको करिब ९५ करोड बजेट प्रक्षेपण गर्ने बारे समेत बिभिन्न निर्णय भएको बैठक सम्बद्ध स्रोतले जनाएको छ ।