डा. न्यौपाने जिल्लाकै एक मात्र दैनिक पत्रिका बर्दघाट पोष्ट दैनिकको प्रमुख सल्लाहकार !
नवलपरासी – बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहनुभएका बरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ पश्चिम नवलपरासीको एक मात्र दैनिक पत्रिका बर्दघाट पोष्ट दैनिकको प्रमुख सल्लाहकारमा नियुक्त हुनुभएको छ ।
शुक्रवार ‘परिश्रमी’ लाई न्यु भिजन मिडियाले प्रमुख सल्लाहकारको रुपमा मनोनयन गरेर पत्राचार गरेको थियो । सो पत्रबारे शनिवार निर्णय लिदै डा.‘परिश्रमी’ ले मिडियाले सम्मानित प्रमुख सल्लाहकारमा मनोनयन एंव नियुक्त गरेको प्रति धन्यवाद समेत ज्ञापन गर्दै मिडिया क्षेत्रलाई सल्लाह दिन पाउनु आफ्नो लागि समेत महत्वपुर्ण हुने बताउनुभएको थियो ।
न्यु भिजन मिडियाले विगत ४ बर्ष देखि बर्दघाट पोष्ट दैनिकले प्रकाशन गर्दै आएको छ । बर्दघाट पोष्ट दैनिक संघीयता कार्यान्वयन पछिको पश्चिम नवलपरासीको पहिलो दैनिक पत्रिका समेत हो ।
‘परिश्रमी’ ले आफूले मिडिया क्षेत्रलाई आफ्नो लेखकीय क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै साहित्यिक क्षेत्र र पत्रकारिता एक सिक्काका दुई पाटा जस्तै रहेको उल्लेख गर्नुभयो ।
उहाँलाई संस्थाले बर्दघाट पोष्ट दैनिक, स्थानीय पत्र साप्ताहिक र त्यसको अनलाइन संस्करणमा समेत प्रमुख सल्लाहकारको भुमिकामा मनोनयन राखेको हो ।
गजलमा विद्यावारिधी गर्नुभएका ‘परिश्रमी’ को जन्म बि.स. २०१५ साल असार १४ गते गण्डकी अञ्चलको स्याङ्जा जिल्ला अन्तर्गत श्रीकृष्ण गण्डकी गा.वि.स.२ बलाम नित्यडाँडामा भएको थियो । लामो समय प्राध्यापन पेशामा सक्रिय रहनुभएका उहाँ पश्चिम नवलपरासीको बर्दघाट–४ मा स्थायी रुपमा बस्दै आउनुभएको छ । मूलतः गजलकार व्यक्तित्वका रूपमा स्थापित ‘परिश्रमी’ समालोचक एकाङ्कीकार, कवि, कथाकार, निबन्धकार र गीतकार व्यक्तित्वका रूपमा पनि परिचित हुनुहुन्छ ।
बिभिन्न साहित्यिक संघसंस्थामा आवद्ध रहेका ‘परिश्रमी’संग सगर, झरना, मुच्र्छना, नानी, रजस्थल, निसाप, युगदर्पण आदि पत्रिकाको सम्पादन समेत गरेको अनुभव छ । जागजाग कविता २०३१ मा प्रकाशित गरेर आफ्नो साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका डा. न्यौपानेका हालसम्ममा एक दर्जन बढी कृति प्रकाशित छन् ।
संस्थाले डा. न्यौपानेलाई आफ्नो तीन वटै संचारमाध्यममा सल्लाह दिने अपेक्षा सहित प्रमुख सल्लाहकारमा नियुक्त गरेको प्रबन्ध निर्देशक रवि पाण्डेयले बताउनुभयो ।
उहाँले पत्रकारिताको क्षेत्रमा नयाँ प्रयोग र जिल्लामा पृथक खालको पत्रकारिता लैजाने योजनाको शुरुवात स्वरुप डा. न्यौपानेलाई औपचारिक रुपमै सम्मानित प्रमुख सल्लाहकारमा मनोनयन गरिएको उल्लेख गर्नुभयो । संस्थाको प्रबन्ध पत्रको दफा ६ को उपदफा (६) बमोजिम डा. न्यौपानेलाई प्रमुख सल्लाहकार नियुक्त गरिएको निर्देशक पाण्डेयले जानकारी गराउनुभयो ।